काठमाडौं : संवैधानिक परिषद्ले ५ संवैधानिक आयोगका अध्यक्षमा सिफारिस गरेकामध्ये मुस्लिम आयोगका अध्यक्षविरुद्ध उजुरी परेको छ भने अन्य ४ अध्यक्षका बारेमा कुनै पनि उजुरी परेको छैन ।
संसदीय सुनुवाइ समितिको आजको बैठकमा सिफारिस भएका आयोगका अध्यक्षहरूविरुद्ध परेका उजुरी खोल्दा मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीविरुद्ध मात्र उजुरी परेको र बाँकी ४ जनाविरुद्ध कुनै पनि उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
मुस्लिम आयोगका अध्यक्ष अन्सारीलाई ४ वटा उजुरी परेका मध्ये एक अतिगोप्य, एक गोप्य र दुईवटा नामसहितका उजुरी परेका छन् । उजुरीमा शैक्षिक योग्यता नक्कली रहेको विषय उल्लेख रहेको बताइएको छ । समितिका सभापति कर्णले समितिका सदस्यहरूलाई अध्ययनका लागि समय दिएको र अध्ययनपछि मात्र उजुरीका बारेमा थाहा हुने बताए ।
समितिले आगामी मंगलबार ११ गते उजुरीकर्तालाई बोलाएको छ । सोही दिन १२ बजेदेखि प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीमाथि संसदीय सुनुवाइ प्रारम्भ गर्ने बैठकले निर्णय गरेको छ ।
संवैधानिक परिषद्को गत माघ ७ गते बसेको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगमा पूर्वसचिवसमेत रहेका पौडेल, समावेशी आयोगमा पूर्वसचिवसमेत रहेका सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त, थारू आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा अन्सारीको नाम सिफारिस गरेको थियो ।
नेपालको संविधानको धारा २९२ ले संवैधानिक परिषद्को सिफारिसमा हुने नियुक्तिमा संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुरूप समितिको कार्यविधिअनुरूप सिफारिस भएका अध्यक्षमाथि उजुरी गर्न १० दिन समय दिएको थियो । सो समय आज सकिएको हुनाले उजुरी खोलिएको हो । संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएमा सिफारिसअनुसार नियुक्ति हुनेछ तर सो प्रक्रियाबाट अनुमोदन नगरेको अवस्थामा भने नियुक्ति प्रक्रिया रोकिनेछ ।
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५