बाजुरा : जिल्लाका ९ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।
जिल्ला दैवीप्रकोप उद्धार समितिले विपत् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको र तत्काल केन्द्रमा पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । ती ९५ बस्तीमध्ये सबैभन्दा बढी जोखिममा रहेको त्रिवेणी नगरपालिका र दोस्रोमा बडिमालिका नगरपालिका रहेको जनाइएको छ ।
समितिले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका जोखिममा रहेका बस्तीको पहिचान गरी ती बस्तीलाई स्थानान्तरण गर्नुपर्ने निर्णय गरेको प्रजिअ बरालले बताए । त्रिवेणी नगरपालिकाको वडा नं.- १ को विशालबजार, सल्लेरी, वडा नं.- ४ को पीपलसैन, राउतेला वडा नं.- ५ को किम्नीको ढोड क्षेत्र बढी जोखिममा रहेका छन् । वडा नं.- ६ को गैरा, पन्धारागाउँ, फल्नेतोला- ८ को पन्ताली, ढडाली, बाँगापाटा, कालापानी, गिरीवाडा, नेपालीटोल- ९ को ताम्सु, नुवाकोटको बस्ती जिल्लाकै उच्च जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्रिवेणीपछि दोस्रो जोखिममा रहेको बडिमालिका नगरपालिकामा १५ बस्ती उच्च जोखिममा रहेका छन् ।
समितिले उच्च जोखिममा रहेका ९५ मध्ये तत्काल स्थानान्तरणका लागि बडिमालिका नगरपालिका वडा नं.- १ को सल्लेना, २ को मैमातोला विष्टवाडा, बथानलेख- ७ को जिल्ली, ३ को उखाडीलगायतका बस्ती सिफारिस गरेको छ । जोखिममा रहेका बस्तीको स्थानान्तरण तथा व्यवस्थापनाका लागि शहरी विकास तथा भवन निर्माणका लागि सिफारिस गरिएको समितिका सदस्य कृष्ण अधिकारीले जानकारी दिए ।
सरोकारवालासँग छलफल गरी बस्ती जोखिममा रहेको पहिचान गरेको अधिकारीले बताए । त्यस्तै, अन्य कतिपय गाउँपालिकाको पनि बस्ती जोखिममा रहेको र स्थानान्तरणका लागि सिफारिस गरिएको जनाइएको छ ।
सबैभन्दा कम जोखिममा जगन्नाथ गाउँपालिकाका बस्ती रहेका छन् । हिमाली गाउँपालिकामा भने बस्ती जोखिम कम भए पनि स्थानान्तरण गर्नुपर्ने बस्ती भने धेरै रहेको प्रजिअ बरालले बताए ।