काठमाडौं : पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म बदली वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोर रूपमा विकसित पश्चिमी वायुको प्रभावले बदलीसँगै हल्का वर्षा गराउने बताए । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म जारी रहने र आइतबारदेखि मौसममा सुधार आउने उनको भनाइ थियो । अघिल्लो पटक देखापरेको पश्चिमी वायुले तीन दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो । उक्त प्रणाली कमजोर भएको चार दिनमै पुनः पश्चिमी वायु नेपालको आकाशमा देखापरेको हो ।
काठमाडौं उपत्यकामा तीन-चार दिनयता घाम लागेकाले केही न्यानो महसुस गरिए पनि पश्चिमी वायुको प्रभावले आजदेखि बदली गराएका कारण काठमाडौंमा केही चिसो बढाएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ७ र अधिकतम १९ डिग्री सेल्सियस रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज डडेलधुरामा ७, वीरेन्द्रनगरमा ५ र दाङमा १ मिलिमिटर वर्षा भएको छ ।
यसैबीच महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै आज राती देशका अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका अधिकांश स्थानमा र मध्य तथा पूर्वी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना औँल्याएको छ । उच्च पहाडी र हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
भोलि शुक्रबार देशभर सामान्यतया बदली रहनेछ भने पश्चिमी भेगका अधिकांश र मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । फागुन ४ गते शनिबार पनि देशका अधिकांश स्थानमा बदली र पश्चिम, पूर्वी तथा मध्य नेपालका पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५