काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दशैँ बिदा सकिए पनि नियमित पठनपाठन शुरु नगर्ने तीन विद्यालयलाई स्पष्टीकरण सोधेको छ ।
कात्तिक ११ गते दशैँ बिदा सकिए पनि कात्तिक १२ गतेदेखि नियमित पठन–पाठन शुरु नगरेको पाइएपछि च्यास्मीटार मावि च्यास्मीटार, मालिकादेवी मावि कदुवा र दूधकोसी आधारभूत विद्यालय, बाहुनीडाँडा, जयरामलाई नगरपालिकाले स्पष्टीकरण सोधेको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, सामाजिक विकास शाखा संयोजक रुद्र राईलगायतको टोलीले कात्तिक १२ गते स्थलगत अनुगमन गर्दा नियमित पठनपाठन शुरु नभएको पाएपछि विद्यालयलाई लिखित स्पष्टीकरण सोधेको हो । कार्यालय समयमा अनुगमन गर्दा दूधकोशी आधारभूत विद्यालयमा एक जना शिक्षक र दुई जना विद्यार्थी मात्र भेटिएका थिए । तर हाजिरी पुस्तिका हेर्दा १५ विद्यार्थीको उपस्थिति देखिएको मेयर राईले बताए।
अनुगमनपछि नगरपालिकाले विद्यालयमा नियमित पठनपाठन शुरु नहुनुको कारण तथा कात्तिक १२ र १३ गतेको सम्पूर्ण शिक्षकको उपस्थिति, काज बिदा तथा अनुपस्थितिको विवरण तीन दिनभित्र पठाउन पत्राचार गरेको छ । विना जानकारी अनुपस्थित हुने शिक्षकको तलब कट्टा गर्ने नगरपालिकाले जनाएको छ ।
दशैँ तिहार जस्ता चाडबाड आसपासमा बिदा सकिए पनि जिल्लाका प्रायजसो विद्यालयमा पठनपाठन शुरु हुन सकेको छैन । तराईका कतिपय शिक्षक छठपछि मात्र विद्यालयमा हाजिर हुन्छन् । कतिपय गाउँकै शिक्षक पनि चाडबाड आसपासमा नियमित उपस्थित नहुने समस्या पाइएको मेयर राईले बताए। नियमित पठनपाठन नहुने भएपछि दशैँ तिहार आसपासमा विद्यार्थी समेत कम उपस्थित हुने गरेका छन्।
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०