आगामी चुनाव मङ्सिर ४ पछिको सम्भावित परिदृश्य र सत्ताको नेतृत्व गर्ने सम्भावित पार्टीलाई मध्येनजर गरेर यो विश्लेषण गरिएको छ l नेकपा एमाले र नेकपा माओवादीको तर्फबाट निर्विकल्प प्रधानमन्त्रीको विकल्प पूर्वप्रधानमन्त्रीद्वय ओली र प्रचण्ड नै हुन् l यी दुई नेताहरूलाई संसदीय दलको नेतामा च्यालेन्ज गर्ने ह्याउ अन्य कुनै नेताहरूको छैन l लेनिनवादी सङ्गठनात्मक पद्दतिको विशेषता भनेको नै आफ्ना नेतालाई औला उठाउने हिम्मत अरू नेताकार्यकर्ताहरूमा हत्तपत्त नहुनु हो l हालै चीनमा पनि त्यस्तै हर्कत दोहोरिएको छ l चीनका वर्तमान राष्ट्रपति चिनियाँ कम्युनिस्ट पार्टीको २० औ महाधिवेशनबाट तेस्रो कार्यकालको लागि निर्विकल्प घोषणा गरिएका छन् l
अत:कम्युनिस्ट पार्टीमा अधिनायकवादी ह्यांग र जिन हुनु अनौठो भएन l नेकपा एमालेले ओलीलाई आगामी प्रधानमन्त्री घोषणा गरेर गठबन्धनलाई हाँक दिइरहेको छ र पटक पटक सोधी रहेका छन् नेकपा एमालेका नेताकार्यकर्ता l तपाईहरूको प्रधानमन्त्रीको उमेद्वार को हो ? हाम्रो भावी प्रधानमन्त्री फलानो हो भनेर घोषणा गर्न नसक्ने कस्तो गठबन्धन ? चुनावपछि यो गठबन्धन टुटछ भनेर गठबन्धनका दल बीच एकअर्कामा फाटो ल्याउने संसय बढाइ दिने र अन्तर्घातको लागि उक्साउने काम विपक्षी एमालेले गरिरहेको छ l गठबन्धनको विवशता छ उनीहरू एक स्वरले हाम्रो प्रधानमन्त्री फलानो पार्टीको फलानो मान्छे भन्न सकिरहेका छैनन् l
हाम्रो संसदमा १६५ सङ्घीय निर्वाचन क्षेत्रबाट चुनिएर आएका र समानुपातिक निर्वाचन प्रणालीबाट ११० सहित २७५ कोजम्बोरीले प्रधानमन्त्री चुन्दछ l जसको लागि सर्वप्रथम दलले आफ्नो संसदीय दलको नेता चयन गर्दछन् l कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्थामा प्रमुख दल नेपाली कांग्रेसले संस्थागत रूपमा प्रधानमन्त्रीको उमेद्वार घोषणा गरेको छैन l कांग्रेसका नेताहरू रामचन्द्र पौडेल, शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला र गगन थापाले आआफ्नो दावी प्रस्तुत गरेका छन् l यद्दपि आजको दिनसम्म प्रवल दावेदार र सम्भावनायुक्त नेता देउवा, शेखर र गगन मात्रै हुन् l देउवाको विकल्प रामचन्द्र किन हुन सक्दैनन् भने उनले कांग्रेसको १४ औ अधिअवेशनमा चुनाव बहिष्कार गरेर आफू संसदीय दलको नेता बन्ने नैतिक हक गुमाइ सकेका छन् l अर्का दावेदार शेखर हुन् l उमेरको कारण शेखर गगन भन्दा उत्कृष्ट हुन् सक्दैनन्, पुस्तान्तरण र युवा भएको कारण गगन देउवाका विकल्प हुन सक्छन् l
अरू पात्रको हैसियत महाधिवेशनले नै देखाई सकेको कारण सशक्त दावेदार बन्न सक्ने लक्षण देखिन्न, तथापि च्याँखे खाने दाउमा म पनि संसदीय दलको नेता बन्छु, मेरा पनि यति सांसद छन् भनेर च्याँखे थाप्ने कोही ननिस्केलान भन्न सकिन्न ? राजनीतिमा लज्जा कम हुने हुनाले औकात बिनाको आँट देखाउने पात्र र प्रवृत्ति पनि निस्कन सक्छन् l
देउवा बाध्यता र अरू पार्टीले समेत स्वीकार गर्ने राष्ट्रिय फिगर भएता पनि कांग्रेसको भविष्य सुनिश्चित गर्ने नेता होइनन् फगत बाध्यता हुन् l कांग्रेस भित्र आशाको संचार गराउने र क्षमता भएका अनि अनेक आयाममा हालसम्मको घटनाक्रम र परिस्थितिले सक्षम नेता गगन थापा देखिन्छ्न l तर सजिलो छैन गगनको लागि पनि ? उनले आफ्नै प्यानल भित्रका शेखरदेखि अन्य नेतालाई रिझाउनु पर्ने दखिन्छ भने देउवालाई संसद्को गणित भित्र आफूले टिकट दिएका ७० प्रतिशत मध्येबाट जतिले जिते पनि संसदीय दलको नेतामा टक्कर दिने कोही छैनन् l
तर देउवा इतर खेमा गगनलाई संसदीय दलमा नेता मान्न राजी हुने हो भने देउवालाई रामचन्द्र,शशांक, प्रकाशमान, सुजाता, विमिलेन्द्र लगायत सबैलाई थाम्न मुश्किल हुन्छ बिलो भाग लगाउन सकस हुन्छ l संसदीय दलको समीकरण यसै हो भन्न सकिन्न ? भाग पाए माथिउल्खित नेता जोसुकै यताउता गर्न सक्छन् भन्ने कुरा कांग्रेसको १४ औ महाधिवेशनमा रामचन्द्र, प्रकाशमान, विमिलेन्द्र सुजाता र शशांकका भूमिकाले पुष्टि गरिसकेका छन् l सत्ता र शक्तिको खेलमा नैतिकता बिर्सने रोग नेताहरूको लागि क्रोनिक भैसकेको छ l त्यसैले गगनको सम्भावना नकार्न सकिन्न l जोर जबर्जस्त गगन झुल्किन सक्छन् l गगनको आजसम्म तय भएको राजनीति र मारेको फड्कोले पनि यस्तै सूचना दिन्छ l यसर्थ गगनको राजनीति र उनको सम्भावना बारे विश्लेषण गरौ l
सार्वजनिक स्वीकृति प्राप्त नेता
गगन थापा सामाजिक रूपमा पनि स्थापित नेता हुन् l उनलाई र उनको कामलाई सार्वजनिक स्वीकृति दिने काम डाक्टर भगवान कोइराला डाक्टर गोविन्द केसी जस्ता राष्ट्रका चर्चित व्यक्तिका सार्वजनिक वाणीले प्रमाणित गरिएदिएको छ l डाक्टर कोइरालाले गगन थापाको स्वास्थ्य मन्त्रीको कार्यकाललाई विशेष स्मरणीय र स्वास्थ्य सेवाको कोसे ढुङ्गाको रूपमा उल्लेख गरेका छन् भने गोविन्द केसीले सत्याग्रह मार्फत जति उपलब्धि प्राप्त भएका छन् त्यसको हिस्सेदार गगन थापालाई दिएर उनको सार्वजनिक छवि उजिल्याइदिने काम गरेका छन् l वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि गगनको काम र उनले छोडेको छापलाई सामाजिक स्वीकृति प्राप्त भएको बताएका छन् l पार्टी बाहिरबाट पनि सामाजिक वैद्यता र विश्वसनीयता प्राप्त गर्नु नेताहरूको अतिरिक्त नैतिक बल, राजनीतिक आय र पुँजी हो l जुन गगनले चारैतिरबाट प्राप्त गरिरहेका छन् l गगन थापालाई भिषण आक्रमण गर्ने अन्य पार्टीका नेताकार्यकर्ताले समेत सँधै र धेरै उनको आलोचना गरेर उनलाई स्पेश दिइरहेका छन् l विपक्षीको निर्मम र चरम आलोचना र निन्दा पनि एक हदको सित्तैको विज्ञापन हो l जसको फाइदा गगनलाई पुगेको देखिन्छ l स्वास्थ्य मन्त्री को ९ महिने कार्यकालमा गगनले एकीकृत स्वास्थ्य नीतिको जग बसाएको हुँदा त्यसलाई कार्यन्वयन गरेर लैजादा हरेक नागरिकलाई विमाको माध्यमबाट स्वास्थ्य उपचार पाउने अवस्था बन्ने कुरा अर्थविद स्वर्णिम वाग्लेको तर्क छ l
देशको अर्थतन्त्र बुझ्न र अर्थशास्त्रको ज्ञान हाँसिल गर्न त्रिविका अर्थशास्त्रका प्राध्यापक खगेन्द्र कटुवालसँगको नियमित क्लास लिने र विगत केही वर्षदेखि देश विदेशमा रहेका ५ दर्जन जति नेपाली विषय विज्ञ,ज्ञाता र अनुसन्धानदातासँग गगनको परामर्श सल्लाह र सुझाव तथ्य र तथ्यांकमा रहेर बहस गर्ने बानीले गगन सत्ता चलाउने अभ्यासको तयारीमा निरन्तर लागेको कुरा घाम जत्तिकै छर्लंग छ l गगन जान्नेसँग सिक्न जिज्ञासु छन् l आफूलाई जान्ने बुझ्ने होइन धेरै कुरा नजानेको जसरी विज्ञसँग प्रस्तुत हुन्छन् र ज्ञानको क्षितिज फराकिलो पार्छन,उनलाई सल्लाह दिनेहरू भन्छन् l गगनलाई अर्थशास्त्र पढाउने कटुवाल गगनको समय व्यवस्थापन कला र अनुशासित विद्यार्थी बन्ने प्रयासमा देश चलाउने खुवी प्रतिबिम्बित भएको ठान्छन् l यसर्थ गगनको प्रधानमन्त्री हुने चाह र रूची सार्वजनिक स्वीकृतिको विषय बनेको हो l समाजका अन्य विशिष्ट विद्वान् र लब्ध प्रतिष्ठित व्यक्तिहरूले गगनमा त्यो क्षमता आँकलन गरेका छन् l उनको सम्भावनाको वकालत गरेका हुन्छन् l ओली जस्ता वाचाल नेतालाई काउन्टर दिन निर्वाचनको मिति समेत झुक्किने होस्ल्यांगे देउबा जस्ता नेता आजको प्रतिस्पर्धी हुन सक्दैनन् l
देउवा अप्रासंगिक भैसके उनको क्षमता भनेको सबैको स्वीकार्य हुनु हो तर देश हाँक्ने ल्याकत होइन l अन्तराष्ट्रिय क्षेत्रका जानकार र राजनीतिक विश्लेषकहरूका मतमा जति कमजोर प्रधानमन्त्री भयो त्यति नै विदेशी चलखेल र हस्तक्षेप सहज हुने हुनाले वाह्य देशका मान्छेहरूको नजर देउवा र उनका मण्डलीतिर रहन्छ l अन्तरराष्ट्रिय रूपमा चिनिएको नेताको पगरी दिएर नयाँ र क्षमतावान गगनजस्ता पात्रलाई रोक्नु विदेशीहरूको अभिष्ट छैन होला भन्न सकिन्न ? देउवालाई जसरी गगनलाई कज्याउन सकिन्न भन्ने कुरा विदेशीहरूलाई राम्रोसँग ज्ञात छ l नेपाल सरकारका एक जना पूर्व सचिव गगनले छाती ठोकेर एमसीसीको पक्षमा बोल्नु र चुनाव अघि नै आफू प्रधानमन्त्रीको रेसमा रहेको सार्वजनिक उदघोष घातक हुन सक्ने सङ्केत गर्छन् l गगनले एमसीसीमा दोधारे नबनेको र प्रधानमन्त्रीको क्यान्डीडेट आफू पनि भनेको धेरैलाई मन परेको छैन l यही नेता हुने गुण र रिस्क मोल्ने प्रवृत्ति नै अन्य नेताहरूको लागि आँखी हुने सम्भावना पनि उत्तिकै छ l राजनीतिको मार्ग उसै पनि सहज छैन l नागबेली राजनीतिमा छड्के हान्ने बांकटे हान्ने र मौका पर्दा भेलमा हेलिने बुता र ल्याकत भएको कारण नै गगन आज कांग्रेस महामन्त्री बन्न सफल छन् l कांग्रेसको १३ औ महाधिवेशनमा महामन्त्रीमा पराजित हुने निश्चित हुँदा हुँदै उठ्ने र त्यसमाथि पनि आफ्नै ससुरबासँग भिडने साहस गगन थापाको हुँदैनथ्यो भने गगन आज कांग्रेसको केन्द्रीय सदस्यको रूपमा कुनै कुनामा बसेर तेस्रो कार्यकाल गुजारिरहेका हुन्थे l प्रतिनिधि सभाको टिकट पनि धेरै पटक भयो भनेर वन्चित रहने सम्भावना र मिनेन्द्र रिजालको आजको नियति यिनको नहोला भन्न सकिन्नथ्यो l
महान दार्शनिक प्लेटोले भनेका छन् l ‘जसले साँचो कुरा बोल्छ ऊ त्यति नै घृणाको पात्र बन्छ l’ नेपालमा एमसीसी ल्याउने र पास गर्ने सन्दर्भमा त्यस्तै भयो गगनको लागि l एमसीसीको पक्षमा जे अडान लिए र जसरी अडिग रहे त्यसमा उनको बेस्सरी आलोचना भयो l सामान्य नागरिक समेतले देश बेचुवाको जामा पहिर्याई दिए l एउटा उखान नै छ सत्य जुत्ता लगाएर ढोका बाहिर निस्कुन्जेल झुट नौ गाउँ डुलीसकेको हुन्छ l गगनलाई त्यस्तै भयो तर सत्य ढिलो हुन्छ प्रकट भएर नै छोडछ l एमसीसीको विरुद्दको माहोल विस्तारै घटदै छ l गगनको समर्थन र तर्कले औचित्य प्रमाणित गर्दैछ l यसर्थ क्षणिक लोकप्रियताको लागि नभएर परेको बेला सत्य बोल्ने, भिडको आवाज होइन विवेकको आवाज बोल्ने हिम्मत गरेको कारण गगन नेता बन्ने हुती भएका व्यक्ति हुन् l नेपालमा नेता को हुन् र राजनीतिक म्यानेजर को हुन् धेरैलाई थाहा छैन l हामी राजनीतिक म्यानेजरबाट शासित छौ l हुनुपर्ने नेताबाट गाइडेड हो l नेता कम र राजनीतिक म्यानेजर धेरै भएको कारण हामी गन्तव्य भेट्न र प्राथमिकता चयन गर्न बारम्बार चुकिरहेका छौ l यस्तो बेला गगनले देशको नेतृत्व गर्न सक्छन् भन्ने आशा राख्दा अतिशयोक्ति नहोला l
गगनको राजनीतिक इतिहास
बेलायत जसलाई संसदीय प्रजातन्त्रको जननी मानिन्छ जहाँ ऋषि सुनक ४२ वर्ष कै उमेरमा देशको कार्यकारी प्रधानमन्त्री हुन् योग्य भए l हामी उताको बखान गर्छौ तर यताकालाई बेला भएको छैन l ४५ वर्ष भइ सकेका,राजनीतिमा थुप्रै पसिना खन्याएका र आफूलाई हर परीक्षामा उत्तीर्ण गर्दै खारिएका गगनलाई कलिलो भन्छौं l अनुभवहीन देख्छौ l पृथ्वीनारायण शाहले २० वर्षमा राज्य एकीकरणको नेतृत्व गरेको र श्री ३ जङ्ग बहादुर २८ वर्षमा प्रधानमन्त्री भएको दृष्टान्त भएको मुलुकमा २०४६ सालको जन आन्दोलनमा नै सक्रिय, नेविसंघको तर्फबाट त्रिचन्द्र क्यापसको स्ववियु सदस्य (२०५१) स्ववियु सचिव (२०५३), स्ववियु सभापति (२०५५), नेपाल विद्यार्थी सङ्घको केन्द्रीय उपाध्यक्ष (२०५७), ,महामन्त्री (२०५९) र २०६४ मा पहिलो पटक पटक समानुपातिक सांसद हुँदै २०७० र २०७४ मा प्रत्यक्ष निर्वाचित सांसद, लोकप्रिय युवा,संसद्को कृषि र जलस्रोत समितिको सभापति र ९ महिना ( २०७३-०७४ ) स्वास्थ्यमन्त्री भइ मानक योग्य कार्य गरी सकेको, २०६८ मा पार्टीको केन्द्रीय सदस्य हुँदै हाल पार्टीको महामन्त्री बनिसकेका गगन थापा नेपालको प्रधानमन्त्रीको लागि अयोग्य किन ? देश बिदेसका थुप्रै अध्ययन भ्रमण गरेका,सिद्दार्थ वनस्थली स्कुलबाट २०४९ मा एसएलसी उत्तीर्ण गगन समाजशास्त्र र मानवशास्त्रका स्नातकोत्तर हुन् l
वाककलामा पनि त्यत्तिकै पारङ्गत गगन अध्ययन अनुसन्धान गरेर तथ्यमा प्रस्तुत हुने थोरै नेता मध्यका हुन् l गगनको राजनीतिक फड्कोले उनमा प्रधानमन्त्री हुने मात्रै होइन प्रधानमन्त्री बन्ने प्रचूर क्षमता देखिन्छ l कांग्रेसले कोर्स करेक्सन गरेर देशको ड्राइभिङ्ग सिटमा गगनलाई नपुर्याउने किन ? कांग्रेस महामन्त्री र गगनका अग्रज विश्वप्रकाश शर्माले समेत गगन थापा प्रधानमन्त्री भए स्वीकार गर्न सक्ने सहज अभिव्यक्ति दिनुले, कांग्रेस जनले महामन्त्रीमा अत्याधिक मत दिएर विजयी बनाउनुले गगन पार्टी भित्र पनि करिब करिब अनुमोदित नेता हुन् l गगनले यो पटक प्रतिनिधिसभा चुनावमा ह्याट्रिक गरेमा संसदीय दलको नेता बन्न अनुकूल स्थिति सिर्जना हुने देखिन्छ l राजनीति र सत्तामा पुस्तान्तरणको लागि पनि गगनको आगमन असान्दर्भिक छैन l अर्को कुरा अबको करिब १० वर्ष पछि सक्रिय राजनीतिमा आफू नहुने घोषणा गगनले गरीसकेका छन् l त्यसैले पनि यो दश वर्ष भित्र गगनले राजनीतिमा धेरै गर्नु पर्ने हुन्छ l परन्तु:राजनीति सहज खेल होइन l सोचे र देखे जस्तो हुँदैन l राजनीतिमा आन्तरिक र वाह्य थुप्रै फ्याक्टरले काम गर्छन् l सिन अनसिन तिकडमबाजी पनि हो राजनीति l
केही न केही काम गरौ भन्ने गगन
गगन थापा एफएमको कार्यक्रम प्रस्तोतादेखि उदघोषण तालिम दिने सेन्टर चलाएका व्यक्ति हुन् l ट्युसन सेन्टरमा ट्युसन पढाएर पकेट मनि कमाएको कारण यिनलाई काममा मोह भएको देखिन्छ l बाख्रा पालन व्यवसायमा असफल भएको र यही विषय गगनको लागि पेचिलो बनेर सँधै उठिरहेको छ l यद्दपि गगन काम गर्नुपर्छ र उद्दमी बन्नुपर्छ भन्ने सोच राख्ने सानैदेखि कामलाई पनि प्राथमिकता दिने व्यक्ति हुन् भन्न अप्ठ्यारो मान्नु पर्दैन l भलै व्यवसायिक उन्नयन र ओरालो व्यक्तिको निजी सवाल हो l राजनीतिको हिसाब किताब यता जोडिन्न l अनैतिक हुने छुट राजनीति व्यापार व्यवसाय कतै पनि हुन्न l
गगन पनि आरोप मुक्त छैनन्
त्रि-चन्द्र कलेजको स्ववियु सभापति हुँदा आर्थिक हिनामिना गरेको,अमेरिकी एजेण्ट बनेर एमसीसी पास गरेको, बाख्रा पालन गर्दा राज्यसँग अनुदान लिएको, २०७४ को निर्वाचनमा बम पडकाएको नाटक गरेर इमोसनल स्टन्ट गरेको, अनि स्वास्थ्यमन्त्री हुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको भिसी नियुक्तिमा पैसा खाएको जस्ता आरोप पनि लागेका छन् l हिन्दू धर्म विस्थापन र क्रिस्चियानिटी प्रवर्दन गर्न लागेको लगायत लान्छना पनि छन् l तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीको दबदबा र ज्यादती विरुद्द २०७३ श्रावण ५ संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्ने तीन जना जिउँदा सांसदहरू धनराज गुरुङ, श्याम श्रेष्ठ र गगन थापालाई भ्रष्टचारको आरोप लाग्नु केवल आरोप मात्रै भएको ठहर्छ भने गगन र केही साथी मिलेर बाख्रा पालन गर्दा करोड अनुदान लिएको तथ्य यदि सत्य थियो भने गगन कै शब्दमा ओली सरकारको पालामा उनलाई जे पनि गर्ने सम्भावना जीवन्त थियो l र गगनले आफू बाख्रा पालन व्यवासयमा असफल भएको सत्यलाई अस्विकार गरेका छैनन् l बरू व्यवसायमा असफल भएको स्वीकारोक्ति दिएका छन् l व्यवसायिक जीवनमा सफल असफल हुनु व्यक्तिको निजी मामला हो तर राज्यबाट कुनै सहयोग अनुदान लिएर दुरुपयोग गरेको भए प्रमाणित गरेर दण्ड गर्न खुलेआम चुनौती ओली सरकारकै पालामा दिएको कारण त्यो आरोपको तुक देखिन्न l अप्रमाणित आरोप र सडकबाट लगाइएका अनेक लान्छना स्वतन्त्रताको नाममा लोकतन्त्रमा भित्रिएका छाडातन्त्रका विशेषता हुन् l अप्रमाणित आरोप लगाएर पनि छुट रहने स्वतन्त्रता रहँदासम्म मान्छे सामाजिक रूपमा डामिन छोडिने छैन l
गगनले बीपीवादलाई कसरी जोड्छन् नेपाली समाजसँग ?
सिद्दान्तहीन बन्नु आम पार्टीको चरित्र बनेको छ l यस्तो बेला नेपालको सबैभन्दा पुरानो दल कांग्रेसलाई पुनर्जीवन दिनु गगन जस्ता कांग्रेसका उदाउँदा नेताको लागि चुनौती बनेको छ l तत्कालीन बीपीको उदेश्य र समाजवादी नीतिलाई आजको सन्दर्भ र युग अनुसार परिभाषित गरेर नेपाली समाजको लागि अत्यावश्यक शिक्षा,स्वास्थ्य. रोजगार सुरक्षा र स्वाभिमानसँग जोड्ने परिपाटीको खाँचो छ l प्रजातान्त्रिक समाजवादको मोडेल कस्तो हुने रेखाङ्कन र सीमाङ्कन गर्नु पर्ने छ l कांग्रेस समाजवादी मोडेलबाट बरालिएको छ लर्बरिएको छ त्यसलाई ठिक ठाउँमा ल्याउन सक्नुमा देश चलाउने भिजन क्लियर हुन्छ l बीपीको नाम होइन उनले बोकेको प्रजातान्त्रिक समाजको मर्म पक्डन नसके गगन पनि दुई दिनको रामरमिता मात्रै बन्नेछन् l बीपीको सिद्दान्तनिष्ठ कांग्रेस बनाउनु गगनको प्राथमिक दायित्व हो l बीपी वादलाई नेपाली समाजसँग जोडने मूल कडी समात्नु नितान्त जरूरी छ l समाजमा आर्थिक विषमताको ठूलो खाडल छ l यसलाई पुर्ने नीति तथा कार्यक्रम र योजना तर्जुमा हुनुपर्छ l नेपाली समाजमा अमानवीय जातीय छुवाछुत र भेदभाव व्याप्त छ,त्यसको समुल नष्ट बिना समाज सभ्य,सुरक्षित र मर्यादित बन्न सक्दैन त्यसतर्फ ध्यान खिच्ने विशेष कार्यक्रम र योजना आजको मुख्य कार्यभार हो, मान्छे हुने हक नागरिकको पहिलो चाहना हुन्छ यस्ता विषय र मुद्दामा केन्द्रित बन्न नसके एउटा मान्छे प्रधानमन्त्री भइहालेमा सिंहदरबारले एक थान प्रधानमन्त्रीको फोटो थप्ने छ l देशले समय र अवसर दुवै गुमाउने छ l त्यसैले भाग्ने हैन भिड्ने अवसर मात्रै छ गगनको लागि l
सुझाव
गगनले कलेजको क्रान्तिकारी विद्यार्थी नेता झैँ आक्रोशित भएर भाषण गर्ने शैली त्यागेर जिम्वेवार र जबाफदेही नेता बन्ने आचरण विकास गर्नुपर्छ l जिम्वेवारिको भारीले सालीन र सौम्य राजनीतिक प्रतिकार तर्क र तथ्यको खोजी गर्दछ l भिड हेरेर होइन भिडलाई नियन्त्रण गर्ने विवेक प्रदर्शन गर्नुपर्छ l आज बोलेको बोली, भोलिको गलपासो नबनोस् भनेर नेताहरू सचेत भएनन् भने बोलीको विश्वसनीयता गुम्ने खतरा हुन्छ l विश्वसनीय हुनु राजनीतिक कर्मीको सबैभन्दा बलियो अश्त्र हो l
अन्त्यमा ...
एउटा प्रतिभाशाली व्यक्तिलाई आरोप लाग्ने र लटरम्म फलेको वृक्षले झट्टी, ढुङ्गा भेट्ने निरन्तर प्रहार पाउने विषय सामान्य सामाजिक नियम हुन् l कांग्रेस नेता स्वर्गीय बीपी कम आलोचित भएका २०४६ को परिवर्तन पश्चात मात्रै हो l नेकपाका संस्थापक पुष्पलाल पनि स्वयं कम्युनिस्टहरूबाट नै गद्दार घोषित पात्र हुन् l सँधै आलोचित राजनीतिककर्मी हुन् l कम्युनिस्टहरूका गुरूको रूपमा चर्चित कमरेड मोहनबिक्रम सिंह आजपर्यन्त गाली,बेइज्जती र अपमानको सिकार बनिरहेकै छन् l यसर्थ गगन थापाजस्ता व्यक्तिको लागि आजको खुला समाजमा अपमान,गालीगलौज र खुट्टा तान्नु अस्वाभाविक कुरा होइन l यद्दपि एउटा मान्छे, एक राजनीतिक प्राणी, एक दलको नेता, यही समाजको उत्पादन,यहाँ अभ्यास गरिएको विसंगत राजनीतिको उपज हुनुको सीमा र बन्देजमा यी पनि कमजोरी रहित मान्छे नहुन सक्छन् l यिनका पनि त्रुटी र व्यवस्थापकीय अक्षमता हुन सक्छन् / छन् l एउटा मान्छेको रूपमा मात्रै गगन थापाको पनि मुल्याङ्कन, विश्लेषण र विवेचना गरौ l लान्छानाको अतिरन्जना र प्रशंसाको अतिरन्जना दुवै घातक हुन्छन् l गगनले संसदमा प्रतिपक्षको बेन्चबाट दिएको काउन्टर जति रोचक र घोचक देखिन्थ्यो यिनको राजनीतिक जिन्दगी पनि त्यस्तै रोचक र घोचक छ l राजनीति कर्म सिद्दी होइन कर्म प्राप्ति हो l कर्म प्राप्ति जिन्दगी रहुन्जेल चलिरहन्छ l राजनीतिमा अर्काको लोकप्रियताको अत्यन्तै डाह गरिन्छ l कतै गगनको लोकप्रियता असमयमा दुर्घटित हुने त होइन ? आशा गरौ त्यस्तो कहिल्यै नहोस् l
-लेखक कार्की त्रिवि कीर्तिपुरका एमफिल–पीएचडी अनुसन्धाता हुन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९