डा. जनार्दन सुवेदी
केही दिनअघि मैले सामाजिक सञ्जालमा राखेको एक पोस्टमा ‘भातमारा’ भन्ने शब्द प्रयोग गरेपछि केही युवाले मलाई सोधे– ‘सर, भातमारा भन्नाले के बुझिन्छ ?’ मैले भनेँ– जब कुनै व्यक्ति वा समूहले अर्को व्यक्ति वा समुदायको दुई छाक ‘भात’ खाने आधार, जस्तै रोजगारी, शिक्षा, स्वास्थ्य, आशा र आत्मगौरव नष्ट गर्छ, त्यस्तो शक्ति भातमारा हो ।
यसको अर्थ अब स्पष्ट छ– हाम्रो वर्तमान राज्य संरचना, सत्तामा रहेका दलहरू, तिनका नेताहरू र पालुवा ढोकेहरू सबै मिलेर नेपाली जनताको जीवनको आधारमै प्रहार गरेका छन् । तिनले देशको आत्मा चिर्दै ‘भातमारा गणतन्त्र’ स्थापना गरेका छन् ।
गणतन्त्रको सपना जनताको मुक्ति, समता र समृद्धिको थियो । तर, १६ वर्षपछि आजको यथार्थ के हो ? संस्थाहरू पंगु छन्, नीति निर्माण विदेशी निर्देशनमा हुन्छ, भ्रष्टाचार शासकीय व्यवहार बनेको छ, र जनता पलायनमा छन् । ३ प्रमुख दलहरूको सिन्डिकेटद्वारा कब्जा गरिएको यो गणतन्त्र अब जनसेवाको होइन, लुटतन्त्रको परियोजना बनेको छ ।
अहिलेको अवस्था हेर्दा, हाम्रो गणतन्त्र वस्तुतः ‘भातमारा गणतन्त्र’ हो, जसले देशभित्रको उत्पादन शक्ति नष्ट ग¥यो, युवाहरूको सपनामा ताला लगायो, र प्रत्येक सम्भावनालाई ‘राहदानी’ मा रूपान्तरण गरिदियो । आजको नेपालमा प्रतिभा, श्रम र सम्भावना विदेशतर्फ बगिरहेको छ । देशभित्रको वातावरण यस्तो बनाइएको छ कि जसले केही गर्न खोज्छ, ऊ घूस, दण्डहीनता र राजनीतिक संरक्षणवादको दलदलमा फस्छ । यही कारण लाखौँ युवा आफ्नो र आफ्नो परिवारको दुई छाक भात जुटाउन मलेसिया, कोरिया, गल्फ मुलुकहरू, जापानतिर लागेका छन् । तिनै युवाहरू, जो देश निर्माणको मेरुदण्ड हुनुपथ्र्यो, अहिले भातमाराहरूका कारण घरेलु श्रमिक नभई ‘विदेशी जनशक्ति आपूर्ति केन्द्र’मा रूपान्तरण भएका छन् ।
भातमाराहरू भाषणमा क्रान्तिकारी देखिन्छन्, तर व्यवहारमा भ्रष्टाचारका संरक्षक हुन् । शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, न्याय, अल क्याप्चर्ड सेक्टर्स ! यिनीहरू ठेकेदारसँग मिलेर विद्यालयको भवन त बनाउँछन्, तर गुणस्तरीय शिक्षा कहिल्यै दिँदैनन् । अस्पताल त ठड्याउँछन्, तर सामान्य बिरामीका लागि न औषधि हुन्छ, न डाक्टर ।
अनि जब जनताले प्रश्न गर्छन्, भातमाराहरू तुरुन्त प्रतिगमनको डर देखाउँछन् । देशप्रेमको कुरा गर्न खोज्नेहरूलाई ‘राजावादी’, ‘चरमपन्थी’ भनी ट्याग लगाइन्छ । आखिरमा, सबै प्रश्नहरूलाई दबाउने यो प्रवृत्ति कस्तो लोकतन्त्रको सूचक हो ? सत्य के हो भने– राजतन्त्र पूर्ण रूपमा निर्दोष थिएन, तर कम्तीमा उसमा राज्यप्रेम, अनुशासन र दीर्घदृष्टि थियो । राजा वीरेन्द्र र ज्ञानेन्द्रले ‘स्वाभिमानी नेपाल’ को कल्पना गरेका थिए, जबकि अहिलेका भातमाराहरूले नेपाललाई विदेशी एजेन्डा कार्यान्वयन गर्ने प्लेटफर्ममा झारेका छन् । राजतन्त्रमा सुधार हुन सक्थ्यो, उत्तरदायी हुन सक्थ्यो । तर, आजको भातमारा गणतन्त्रमा त सुधारको सम्भावनै छैन । किनभने संरचना नै ‘दोष उत्पादक संयन्त्र’ बनेको छ ।
अब प्रश्न उठाउनु पर्छ– के यस्तो राज्य संरचना कायम रहन दिनु न्यायोचित छ, जसले जनताको जीवनकै आधार नष्ट गर्छ ?
भातमाराहरूको अन्त्य गर्नु भनेको देश बचाउनु हो । जनताले राजनीतिक पुनर्जागरणको वकालत गर्नुपर्छ, सार्वभौमिकता, सुशासन, पारदर्शिता र आत्मनिर्भर विकास रणनीतिमा आधारित एक नयाँ विकल्पको माग गर्नुपर्छ ।हामी इतिहासको चौराहामा छौँ, एकतर्फ भातमारा सिन्डिकेट र अर्कातर्फ जनताको भविष्य । अब निर्णय जनताकै हातमा छ । नेपाल बाँचोस्, भातमाराहरूको अन्त्य होस् ।
(लेखकमायामी विश्वविद्यालय, ओहायो, अमेरिकामा समाजशास्त्रको प्राध्यापक हुनुहुन्छ)
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०८२