काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर उठाउन काठमाडौँ महानगरपालिकाले जारी राखेको प्रयास निष्कर्षमा पुग्न सकेको छैन । विवाद मिलेको छैन । सिसडोल क्षेत्रका स्थानीयले काठमाडौँमा भएको सहमति अस्वीकार गरेका छन् ।
उनीहरूको आन्दोलनले बुधबार फिर्ता भएका ट्रकहरू काठमाडौँमै थन्किएका छन् । बुधबार प्रहरी र बञ्चरेडाँडाका स्थानीयबिच झडप भएको थियो । झडपमा स्थानीयले फोहोर बोकेर गएका ट्रक तोडफोड गरेका थिए । प्रहरीले झडप नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरेको थियो ।
मंगलबार प्रहरीको सुरक्षामा डेढ सय ट्रक फोहोर विसर्जन गरिएको भए पनि त्यसयता फोहोर फाल्न सकिएको छैन ।
काठमाडौँ महानगरपालिका वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईले ट्रक चालकहरूसँग वार्ता भइरहेको जानकारी दिइन् । उनका अनुसार प्रहरी सुरक्षामा पनि फोहोर विसर्जन स्थलसम्म लैजान सकिएको छैन ।
गत सोमबार सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डङ्गोलको रोहबरमा त्रिपक्षीय सम्झौता भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९