काठमाडौँ । हरियो तरकारीको मूल्य सातामै १ सय ७४ प्रतिशत सम्मले बढेको छ ।
केही दिनअघि लगातार रूपमा परेको वर्षाका कारण किसानले लगाएको तरकारी बाली नष्ट भएपछि मूल्य बढेको बताइएको छ ।
भिन्डी, लौका, घिउ सिमी, स्थानीय काउली, घिरौँला, चिचिन्डो, भन्टा, करेला लगायत हरियो तरकारीको मूल्य बढेको पाइएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूची अनुसार १ साताअघि प्रतिकिलो २० रुपैयाँ रहेको घिरौँलाको मूल्य हिजो (शनिवार)सम्ममा १ सय ७४ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ ।
यसअघि २५ रुपैयाँ प्रतिकिलो रहेको तिते करेलाको मूल्य अहिले १ सय २३ प्रतिशतले वृद्धि हुँदै ५५ रुपैयाँ प्रतिकिलो कायम भएको छ । भिन्डीको मूल्य १ सय २० प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ३० रुपैयाँबाट ६६ रुपैयाँ निर्धारण भएको छ ।
त्यसै गरी घिउसिमिको मूल्य पनि १ सय १० प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ५५ रुपैयाँबाट १ सय १५ रुपैयाँ भएको छ । लाम्चो भन्टाको मूल्य १ सय प्रतिशतलले वृद्धि भई प्रतिकिलो २५ रुपैयाँबाट ५० रुपैयाँ कायम भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यले लगातार भएको वर्षात्का कारण किसानले लगाएको तरकारी बाली बारीमै कुहिएर नष्ट भएपछि तरकारीको मूल्य एक्कासि बढेको बताए ।
नेपाली उत्पादन बारीमै नष्ट भएर मूल्य बढ्न थालेपछि व्यापारीहरूले भारतबाट तरकारीको आयात बढाएको उनले जानकारी दिए । उनका अनुसार भारतबाट तरकारी आउने क्रम सुरु भइसकेकाले बिस्तारै फेरि मूल्य घटेर पुरानै स्थितिमा फर्किनेछ ।
दैनिक ८ सय देखि ९ सय टन तरकारी भित्रिने कालीमाटी बजारमा वर्षाका कारण तरकारी बारीमै कुहिन थालेपछि घटेर दैनिक ३ सय टनसम्म झरेको थियो । १२, १३ र १४ गते सबैभन्दा कम परिमाण तरकारी भित्रिएको थियो । यी दिनमा क्रमशः ५ सय, ३ सय र ४ सय टन तरकारी कालीमाटीमा भित्रिएको समितिको दैनिक तरकारी आगमन विवरणले देखाएको छ ।
त्यस यता तरकारी भित्रिने दर पुरानै अवस्थामा फर्किसकेको भए पनि तरकारीको मूल्य भने घटेको पाइँदैन ।
प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८