काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई संविधानको धारा–६१ बमोजिम मुलुकको प्रधानमन्त्री नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछिका सबै सरकारहरू संविधानको धारा–७६ अनुसार गठन हुँदै आएका भए पनि यसपटक भने राष्ट्रपति पौडेलले धारा–६१ को प्रावधानलाई आधार बनाएर कार्कीलाई नियुक्त गरेका हुन् ।
धारा–६१ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने र संविधान तथा संघीय कानूनअनुसार आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, राष्ट्रपतिले राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालन तथा संरक्षण गर्ने जिम्मेवारी पनि सोही धारामा प्रष्ट उल्लेख गरिएको छ ।
यस धारा भित्र प्रधानमन्त्रीको नियुक्ति वा पदसम्बन्धी विशेष प्रावधान नदेखिए पनि राष्ट्रपति पौडेलले आफ्नो कार्य, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्थालाई आधार मानेर कार्कीलाई नियुक्त गरेको बताइएको छ ।
जेन–जी आन्दोलनको बलमा नेतृत्वमा आएकी सुशीला कार्की नेपालको संविधान जारी भएपछि प्रधानमन्त्री बनेकी पहिलो व्यक्ति हुन्, जसलाई धारा–६१ को आधारमा नियुक्तिपत्र दिइएको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२