जाजरकोट । युवालाई दाम्लोले बाँधेर पक्राउ परेका वडाध्यक्षलाई पाँच हजार धरौटीमा छोडिएको छ । साउन १५ गते स्थानीय युवा सर्पे दमाई लाई कुटपिट गरी पक्राउ परेका जाजरकोटको जुन चाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई पाँच हजार धरौटीमा छुटाइएको हो ।
अध्यक्ष नेपालीले ती युवकलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो भाइरल भएपछि अध्यक्ष नेपालीको चौतर्फी विरोध भएको थियो । भिडियोको आधारमा प्रहरीले अध्यक्ष नेपालीलाई पक्राउ गरेको थियो ।
वडाध्यक्ष नेपालीले भने युवकलाई नपिटेको बताएका थिए । रक्सी खाएर वडा कार्यालयमा ढुङ्गा मुढा प्रहार गरेकोले सम्झाइ बुझाइ गरेको वडाध्यक्ष नेपालीले बताएका थिए । तर सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा वडाध्यक्ष लगायतका व्यक्तिहरूले निर्घात कुटपिट गरेको देखिएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८