काठमाडौ । छ दिनदेखि जारी काठमाडौँ उपत्यकाको निषेधाज्ञा र कर्फ्यु शनिबार बिहानदेखि हटाइएका छन्। भदौ २४ गते नेपाली सेनाले जारी गरेको सूचनापछि काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा र कर्फ्यु लागू गरिएको थियो। तर आजदेखि सेना वा स्थानीय प्रशासनले कुनै नयाँ सूचना नदिएकाले प्रतिबन्धात्मक आदेश स्वतः अन्त्य भएको छ।
निषेधाज्ञा र कर्फ्यु हटेसँगै उपत्यकासहित देशका अन्य भागमा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।
भदौ २३ गते ‘जेन जी’ आन्दोलन उत्कर्षमा पुगेपछि स्थानीय प्रशासनले सुरक्षात्मक कारण देखाउँदै निषेधाज्ञा र कर्फ्यु लागू गरेको थियो। तर गएराति राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि राजनीतिक वातावरण सहज बन्दै गएको र त्यससँगै प्रतिबन्धात्मक अवस्था पनि हटेको हो।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२