काठमाडौँ । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौँ आइपुगेको छ । शनिवार बिहान कतार एयरवेजको विमान तीन लाख बढी खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
बाँकी करिब पाँच लाख डोज खोप आइतबार आइपुग्ने बताइएको छ । जापान सरकारले नेपाललाई करिब १६ लाख डोज एस्ट्राजेनेका खोप दिने प्रतिबद्धता जनाएको थियो ।
आज र भोलि नेपाल आइपुग्ने ८ लाख डोज बाहेकका बाँकी ८ लाख डोज खोप कहिले आइपुग्ने भन्ने खुलाइएको छैन ।
सरकारले कोरोनाविरुद्ध कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा एस्ट्राजेनेकाको खोप दिने निर्णय गरेको छ । गत फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई जापानले उपलब्ध गराएको खोप दिन लागिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २३, २०७८