काठमाडौँ। तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आउनुभएकी विमला भट्टराईलाई आफ्नो नाम लेख्न आउदैँनथ्यो । हालसम्म किताब नछोएकी उनले नाम लेख्नु त परको कुरा, अक्षर चिन्न पनि मुस्किल थियो । पैसट्ठी वर्षीया भट्टराईले सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाँदा औठाछाप लगाउथिन ।
तर अब उनलाई बैङ्कमा गएर औठाछाप लगाउनुपर्दैन, उनले प्रष्टसँग आफ्नो नाम लेख्न सक्ने भएकी छिन । “अब त बैङ्कमा जाँदा औँठाछाप होइन, आफ्नै नाम लेख्ने हो”, उनले भनिन, “आफ्नो नाम आफैँले लेख्न सक्ने हुँदा साह्रै खुशी लागेको छ ।”
रोट¥याक्ट क्लव अफ वेदव्यास र इनरह्विल क्लब अफ दमौलीले ज्येष्ठ नागरिक आमाहरुलाई लक्षित गरी सञ्चालन गरेको साक्षरता अभियानमार्फत उनले आफैँले नाम लेख्न सक्ने भएकी छिन। “सिकाइको उमेर हुँदैन” भन्ने नारा सहित क्लबले यही असोज ६ गतेदेखि आश्रममै साक्षरता अभियान सञ्चालन गरेको थियो । क्लबले सञ्चालन गरेको उक्त अभियानमार्फत १० जना प्रशिक्षित भएका छन् ।
रोट¥याक्ट क्लब अफ वेदव्यासकी अध्यक्ष सन्जु घलेले साक्षरता अभियानमा सहभागी कतिपय आमाहरुले नेपालीमा नाम लेख्न पहिल्यै जानेको भए पनि अङ्ग्रेजीमा पनि लेख्न सक्ने हुनुभएको जानकारी दिईन । “अधिकांशले पहिलो पटक आफैँले नाम लेख्न सक्ने हुनुभएको छ, केहीले पनि अङ्ग्रेजीमा पनि नाम लेख्न सिक्नुभयो”, घलेले भनिन ।
व्यास –५ कै आमाहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त अभियानमा आश्रमका दुई जना र अन्य आठ जना सहभागी थिए । स्थानीय मिठु केसी, हरिमाया थापा, मनमाया श्रेष्ठ, नमून थापा लगायतले बुढ्यौली उमेरमा केही दिन भए पनि पढ्न पाउँदा खुशी लागेको वताइन ।
क्लबकी अध्यक्ष घलेका अनुसार साक्षरताको अभियानको पहिलो भाग समापन भएको र पुनः यस्तै कार्यक्रम सञ्चालन गरिने जानकारी दिईन । यस अभियानका क्रममा दैनिक दिउँसो ४ बजेदेखि ५ः३० बजेसम्म कक्षा सञ्चालन गरिएको थियो । क्लबकै सदस्यहरुले आमाहरुलाई अक्षर चिनाउन सहजीकरण गरेका थिए । वेदव्यास ज्येष्ठ नागरिक आश्रमकी सचिव निर्मला मल्लले बुढ्यौली उमेरमा पहिलो पटक अक्षर चिन्न पाउँदा महिलाहरु खुशी भएको जानकारी दिईन ।
-रासस
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७