नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा उत्साहजनक राजश्व सङ्कलन गर्न सफल भएको छ ।
कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा राजश्व घाटा व्यहोरेको नेपालगन्ज भन्सार कार्यालयलले चालु आवको साउन र भदौ महिनामा भने लक्ष्यभन्दा अधिक राजश्व सङ्कलन गरेको छ ।
चालु आवको पहिलो महिनामा नेपालगन्ज भन्सार कार्यालयले रु एक अर्ब ६८ करोड राजश्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिए ।
उनका अनुसार साउन महिनामा रु ९४ करोड ७५ लाख छ हजार राजश्व उठाउने लक्ष्य राखिएकामा लक्ष्यभन्दा रु ७३ करोड २५ लाख अर्थात् ५६ प्रतिशतभन्दा बढी राजश्व सङ्कलन भएको छ । भदौ महिनामा राजश्व सङ्कलन लक्ष्य रु एक अर्ब छ करोड रहेकामा लक्ष्यभन्दा अधिक रु एक अर्ब ४६ करोड राजश्व सङ्कलन भएको छ ।
बन्दाबन्दीका कारण अवैधरूपमा सामान भित्रिने कार्य बन्द भई सबैजसो सामग्री भन्सार हुँदै आएकोले राजश्व सङ्कलनमा वृद्धि भएको प्रमुख भन्सार अधिकृत निरौलाको भनाइ छ । कोरोना महामारीका कारण नेपाल–भारत जमुनाह सीमा नाका बन्द रहे पनि नेपालगन्ज भन्सार कार्यालयले दैनिकरूपमा आफ्नो गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिँदै निरौलाले भने, “पछिल्लो समय उद्योग तथा कलकारखाना सञ्चालनमा आएपछि कच्चा पदार्थ ल्याउने क्रम ह्वात्तै बढेकाले उत्साहजनकरूपमा राजश्व सङ्कलन भएको हो ।”
नेपालगन्ज भन्सार हुँदै औद्योगिक कच्चा पदार्थका साथै खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्री भित्रिने गरेका छन् । अहिले नेपालगन्ज नाकाबाट फलफूल तथा तरकारीजन्य पदार्थ र मानिसको आवागमनमा भने पूर्णरूपमा रोक लगाइएको निरौलाले जानकारी दिए । नेपालगन्ज भन्सार कार्यालयबाट गत आव २०७६/७७ मा रु साढे तीन अर्ब राजश्व घाटा भएको थियो । रु १५ अर्ब ४३ करोड ७५ लाख लक्ष्य रहेकामा रु ११ अर्ब ७७ करोड आठ लाख मात्र राजश्व सङ्कलन हुँदा रु तीन अर्ब ६६ लाख राजश्व घाटा भएको हो ।
कोरोना भाइरस महामारीका कारण लामो समयसम्म बन्दाबन्दी भएपछि भन्सारको राजश्व असुलीमा कमी आएको प्रमुख भन्सार अधिकृत निरौलाले जानकारी दिए । उनका अनुसार गत आवमा कुल लक्ष्यको करिब ७६ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको थियो । राजश्व सङ्कलन हुने मुख्य समयमा कोरोना भाइरसका कारण बन्दाबन्दी हुँदा त्यसको प्रत्यक्ष प्रभाव राजश्व असुलीमा परेको थियो ।
“नेपालगन्ज भन्सारको राजश्वको मुख्य स्रोत पेट्रोलियम पदार्थ हो, लकडाउनका कारण सवारी साधन ठप्प हुँदा पेट्रोलियम पदार्थ आयात कमी भई राजश्व असुलीमा असर परेको हो”, प्रमुख भन्सार अधिकृत निरौलाले भने, “लकडाउनका कारण चैत, वैशाख र जेठमा राजश्व असुलीको लक्ष्य नपुगेका कारण राजश्व घाटा हुन पुगेको हो ।” रासस
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७