काठमाडौं । पूर्वमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ।
कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा र थमौतीसँग सम्बन्धित अडियो प्रकरणको अनुसन्धानका क्रममा श्रेष्ठको संलग्नताबारे शंका उत्पन्न भएपछि आयोगले उनलाई आज बिहान १० बजेबाट बयानका लागि उपस्थित गराएको हो।
निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग जोडिएको घुस अडियो काण्डको अनुसन्धानकै क्रममा, रेकर्डकर्ता व्यक्तिको फोन ट्रयाकिङ गर्दा केही शंकास्पद फोन कल र म्यासेज भेटिएको अख्तियार स्रोतको भनाइ छ।
अख्तियार स्रोतका अनुसार, उक्त संवादमा तत्कालीन मन्त्री श्रेष्ठले समेत रकम मागेको आशंका गरिएको छ। साथै, श्रेष्ठकी निजी सुरक्षा अधिकृत (पीएसओ) को मोबाइलबाट पनि लेनदेनसम्बन्धी शंकास्पद म्यासेज आदान–प्रदान भेटिएको जनाइएको छ।
अख्तियारले बयानपश्चात थप अनुसन्धानका लागि अन्य व्यक्तिहरूलाई पनि सोधपुछमा तान्न सक्ने संकेत गरेको छ।
प्रकाशित मिति: बुधबार, साउन ८, २०८२