काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) नियमित तालिकामै सञ्चालन हुने बताएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम भए पनि सरकारले उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नियमित तालिका अनुसार नै एसईई परीक्षा सञ्चालन हुने बताए ।
उनले भने, ‘नियमित तालिकामै परीक्षा सञ्चालन हुन्छ। यसका लागि व्यवस्थापकीय तयारी गरिरहेका छौँ ।’
कोरोना भाइरसको संक्रमण देखिएका मुलुकमा समेत परीक्षाहरु सञ्चालन भइराखेको उल्लेख गर्दै विद्यार्थीमा समस्या देखिए छुट्टै व्यवस्था गरेर पनि सरकारले परिक्षा सञ्चालन गर्ने उनले बताए ।
उनले भने, ‘एसईईलाई अहिले हामीले तालिकामै लैजाने भनेर शिक्षा मन्त्रालयले वक्तव्य जारी गरिसकेको छ । कोरोनाको संक्रमण देखिएका मुलुकहरुमा पनि परीक्षा चाहिँ नियमितै गर्नुभएको छ । त्यो परीक्षा गरिरहँदा केही पूर्व तयारी हामीलाई चाहिन्छ । जस्तो परीक्षा हलमा प्रवेश गर्दा समान्य टेम्प्रेचर (ज्वरो) नापेर पठाउने, यदि शंका लाग्यो भने हामीले आइसोलेटेड रुममा राखेर त्यस्तो रुममा पनि निश्चित फरक दूरीमा विद्यार्थीहरुलाई राखेर परीक्षा लिने र त्यसका लागि स्वास्थ्यकर्मीहरु खटाउन पर्ने ठाउँमा खटाइने छ । त्यहाँ प्रदेश र स्थानीय तहको पनि महत्त्वपूर्ण भूमिका हुन्छ ।’
यस वर्ष ४ लाख ८२ हजार २ सय १९ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै छन् ।
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६