जनकपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई सामुदायिक विद्यालयको अवस्था रुग्ण उद्योग जस्तो लागेको बताएका छन् ।
उनले भने, ३५ हजार विद्यालयमध्ये २९ हजार सामुदायिक विद्यालय छन् । यस्ता विद्यालयको अवस्था रुग्ण र बिमार उद्योगजस्तै छन् । मैले सुधार ल्याउन ध्यान दिएको छु ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा शहीद रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालयको शनिबार उद्घाटन गर्दै मन्त्री पोखरेलले सामुदायिक विद्यालयको सुधार गर्न शिक्षकले ध्यान दिनुपर्ने बताए ।
यस्ता विद्यालयले शिक्षक राख्न नपाउने र स्थानीय सरकारले माग गरेका शिक्षक शिक्षक सेवा आयोगले ६ महिनाभित्र उपलब्ध गराउने उनले जानकारी दिए ।
शहीद रामवृक्ष यादवकै जन्मथलो सो स्थानमा श्रीमाध्यमिक विद्यालयमा रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालय स्थापना गरिएको हो ।
शिक्षालयमा आगामी आर्थिक वर्ष २०७७/७८ देखि कृषिबाली विज्ञानको अध्ययन अध्यापन प्रारम्भ हुने विद्यालयका प्रधानाध्यापक राजदेव यादवले जानकारी दिए । विद्यालयको संरचना व्यवस्थापनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल २० लाख उपलब्ध गराएको छ ।
शहीद यादवकी छोरी प्रतिनिधिसभा सदस्य बोधमाया यादव, कान्छी छोरी सुनिता यादव र गणेशमान चारनाथ नगरपालिकाका उपप्रमुख मीनादेवी यादवले शिक्षालय स्थापना गर्न अहं भूमिका निर्वाह गरेको बताइएको छ ।
तत्कालीन नेकपा (माओवादी)का केन्द्रीय नेता रामवृक्ष यादवको विसं २०५२ भदौ २ गते हत्या भएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६