सर्लाही । सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ ।
उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन सुरु गरेको हो । गत पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म ३५ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।
उद्योगले हरेक १५/१५ दिनको फरकमा किसानलाई भुक्तानी दिने गरेको छ । पहिलो चरणमा २३ करोड रुपैयाँ र दोस्रोमा ३५ करोड रुपैयाँ गरी कुल ५८ करोड रुपैयाँ भुक्तानी दिनुपर्नेमा हालसम्म कुल ३५ करोड रुपैयाँ मात्र भुक्तानी गरेको उखु प्रबन्धक योगनारायण रजकले बताए ।
उनका अनुसार नेपालमा रहेका अरु चिनी उद्योगको तुलनामा सबैभन्दा राम्रो भुक्तानी दिने एक मात्र उद्योग इन्दुशंकर चिनी उद्योग हो ।
गत सिजनको नेपाल सरकारबाट पाउनुपर्ने अनुदान वातको रकम ६५.२८ रुपैयाँ प्रति क्विंटलका दरले हुन आउने २२ करोड ८३ लाख ७१ हजार ८ सय ६१.६ रुपैयाँ अहिलेसम्म पनि नपठाएका कारण इन्दुशंकर चिनी उद्योग लिमिटेड बदनाम भएको रकजको भनाइ छ । सरकारले दिने अनुदानवापतको रकम नदिएको भन्दै जिल्लाका धेरै किसानले उखुखेती गर्न छाडेको उद्योगले बताएको छ ।
आफूहरुले किसानलाई समयमै चेक दिएको भए पनि बैंकले समयममै भुक्तानी नदिँदा किसान मारमा परेको रजकले बताए । एनआइसी एसिया बैंकले किसानलाई रकम निकासा दिन ढिलासुस्ती गर्दा उखु किसान मारमा परेको उनको भनाइ छ ।
आफूहरुले माथिल्लो निकायसम्म छलफल गरिरहेको एनआइसी एसिया बैंक हरिवनका शाखा प्रबन्धक सुमन सिंहले बताए । खाता नम्बर यकिन गरी काम गर्न २/३ दिन लाग्ने भएका कारण ढिला भएको उनले बताए । छुट्टै काउन्टर बनाएर उखु किसानलाई सेवा दिने कामसमेत सुरु गरिएको उनले बताए ।
कुल ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्यका साथ सञ्चालन सुरु गरेको उद्योगले ब्लक बनाएर उखु क्रसिङ गरिरहेकामा हालसम्म २३ लाख क्विन्टल उखु क्रसिङ गरी सकिएको रजकले बताए ।
अघिल्लो वर्षको बक्यौता नरहेका चिनी उद्योगले चालू सिजनमा किसानबाट खरिद गरेको उखुको भुक्तानी धमाधम दिन सुरु गरेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उद्योगले उखु किसानलाई भुक्तानी दिन सुरु गरे पनि सरकारबाट पाउने रकममा आलटाल भइरहेको मैनालीले बताए ।
सर्लाहीमा तीन चिनी उद्योग रहेको भए पनि हाल दुई मात्र सञ्चालनमा छन् । इन्दु शङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा छन् भने किसानको भुक्तानी बाँकी राखेको अन्नपूर्ण चिनी उद्योग धनकौल अहिले बन्द छ ।
किसानलाई एकातिर उखुको भुक्तानी नपाउने चिन्ता रहिरहेको समयमा खेतमा रहेको उखु क्रसिङ गर्न कृषि मजदुर नपाउने समस्या त्यत्तिकै छ । जसका कारण उखु उत्पादक किसानले समयमै उखु काटेर चिनी उद्योगसम्म पुर्याउन नसक्दा उखु खेतमै सुक्न थालिसकेको छ । वर्ष्दिनभरि मेहनत गरेर उत्पादन गरेको बाली मुखमा आएर खेतमै सुक्ने अवस्थामा पुग्दा किसान थप मारमा परेका छन् ।
गाउँघरमा रहेका युवाशक्ति स्वदेशमा रोजगारीको सिर्जना नभएको भन्दै विदेश गएपछि अहिले गाउँमा युवा मजदुरको अभाव छ । खेतबारीमा काम गर्ने कृषि मजदुरको अभावपछि अहिले आफ्नो परिवारमा रहेका सबै सदस्य नै खेतबारीमा खटिन बाध्य छन् । कतिपयका आफ्ना जवान छोरा पनि वैदेशिक रोजगारीका लागि विदेश जाँदा अहिले वृद्धवृद्धा मात्र घरमा रहेका र खेतबारीमा काम गर्न बाध्य भएका छन् ।
गाउँमा कृषि मजदुरको अभाव भएपछि काम लगाउने ठेकेदारले आफ्नो मनोमानीमा ठेक्का लिने गरेका कारण आफूहरु थप मारमा परेको किसानको गुनासो छ । मजदुरको ज्यालामा आफुहरुको खर्च बढिरहेको किसानले बताएका छन् । सामान्य तरकारीदेखि उखु खेतीसम्म कृषि मजदुरको अभाव प्रत्यक्ष परेको किसानले बताएका छन् । रासस
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६