काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन् ।
सिटिइभिटीको ३२औं वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा उनले सिटिइभिटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सिटिइभिटी जागिर खाने थलोमा मात्रै परिणत भएको बताएका हुन् ।
नाम अनुसारले सिटिइभिटीले काम गर्न नसकेको भन्दै उनले करारमा कर्मचारी भर्ना गर्ने, जागिर खाने र बस्ने मात्रै सिटिइभिटीको काम हो भनी प्रश्न समेत गरे । सिटिइभिटीका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले सिटिइभिटीले पर्याप्त जनशक्ति उत्पादन गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै भने, ‘सिटिइभिटीले गुणस्तरीय जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता गरे पनि पर्याप्त जनशक्ति उत्पादन गर्न सकेको छैन, के सिटिइभिटी जागिर खाने थलो मात्रै हो ?’
सिटिइभिटीले अहिलेसम्म निजी क्षेत्रलाई अस्थायी सम्बन्धन दिँदै आए पनि त्यो सम्बन्धन स्थायी बनाउनेतर्फ चासो नदिएको उनको भनाइ थियो । उनले निजी क्षेत्रसँगको सम्बन्धन स्थायी नभएकाले सिटिइभिटीले गुणस्तरीय र आवश्यकतानुसार जनशक्ति उत्पादन गर्न नसकेको बताए ।
सिटिइभिटीमाथि जहिले पनि मन्त्रालयले हस्तक्षेप गर्यो, काम गर्न दिएन भनेर अनावश्यक आरोप लगाउने गरिएको भन्दै मन्त्री पोखरेलले भने, ‘जहिले पनि सिटिइभिटीलाई मन्त्रालयले हस्तक्षेप गर्यो भन्ने ? तपाईंहरु भन्न सक्नु हुन्छ, मेरो सचिवालयले कुन–कुन घटनाक्रममा कहिले–कहिले हस्ताक्षेप गरेको छ ? मैले अहिलेसम्म एउटा पनि निजी संस्थालाई सम्बन्धन दिएको छैन ।’
सिटिइभिटी आफू काम गर्न नसक्ने तर दोष मन्त्रालयलाई लगाउने गरेकामा रोष व्यक्त गर्दै मन्त्री पोखरेलले भने, ‘तपाईंले एउटै कर्मचारीलाई जिम्मेवारीमा राख्नु भयो ? सक्रिय प्रणाली लागू भएन, पटक–पटक कर्मचारी फेरबदलको सल्लाह दिएँ, कार्यका आधारमा कार्यदिशा तय गरी काम गर्न निर्देशन दिएँ तर लागू भएन ।’
सिटिइभिटी सीप, शिक्षा, चरित्र सिकाउने थलो हो भन्दै मन्त्री पोखरेलले आफ्नो जिम्मेवारीप्रति ध्यान दिन निर्देशन दिए ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६