धनगढी । धनगढीमा नेपाली कांग्रेसबाट विजयी वडाअध्यक्ष सहित १६ जुवाडेलाई प्रहरीले पक्राउ गरेकाे छ ।
गएराति जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनिने रविन्द्र शाहीसहित १६ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले प्रहरी टोलीले वडा नम्बर ३ रोस हाउस रेस्टुरेन्ट पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
उनीहरुको साथबाट २२ लाख ८२ हजारभन्दा बढी नगद पनि बरामद गरिएको छ ।
वडाध्यक्ष शाहीका साथै कञ्चनपुर भीमदत्त नगरपालिका–३ का ३४ वर्षीय धिरेन्द्र चन्द, कञ्चनपुर वेलौरी नगरपालिका–१ का ३४ वर्षीय भुवन कुँवर, धनगढी–३ का ३८ वर्षीय तिलक अधिकारी, ३४ वर्षीय रमेश खड्का, ३७ वर्षीय चन्द्र मणि अधिकारी, ३५ वर्षीय खेम राज भट्ट, ४१ वर्षीय जनक दौल्याल, गोदावरी–१० का २८ वर्षीय सन्देश तामाङ, ३८ वर्षीय मोहन खड्का, बैतडी दशरथ चन्द नगरपालिका–८ का ३१ वर्षीय अमित गुरु, ३० वर्षीय सूर्य भट्ट, ५० वर्षीय कालु सिंह धामी, बझाङ जयपृथ्बी नगरपा लिका–१० का ३५ वर्षीय प्रेम बहादुर सिंह, दार्चुला नौगाड गाउँपालिका–४ का ३३ वर्षीय जय सिंह धामी र ३८ वर्षीय मंगल ठगुन्ना पक्राउ परेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६