काठमाडौं । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने संकेत देखिएको छ ।
आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले पछिल्लो पटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल ट्रेनिङ सेन्टर (टीटीसी), प्रशासकीय भवनलगायत मुख्य प्रशासनिक भवनमा तालाबन्दी गरेको थियो ।
केयू प्रशासनले माघ १३ गतेको विशेषसभामा सहभागी गराउन र सो सभामा मागबारे सम्बोधन गर्ने जनाएपछि आन्दोलनरत केयू प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गर्दै हाल आन्दोलनका क्रममा निर्धारण भएका पूर्वनिर्धारित थप कार्यक्रम स्थगन गर्दै अन्य कार्य सञ्चालन गर्न सहजीकरणका लागि आवश्यक वातावरण सिर्जना गर्ने निर्णय गरेका छौँ भनिएको छ । तालाबन्दी भने नखुलाइने कर्मचारी सङ्घका अध्यक्ष सुरेन्द्र केसीले बताए । विशेषसभामा मागबारे सम्बोधन गरी निर्णय भएपछि मात्रै तालाबन्दी खोल्छौँ , उनले भने ।
विशेषसभाका लागि अत्यावश्यक पर्ने सामग्री कार्यालयबाट झिक्न भने आफूहरुले सहजीकरण गर्ने केसीले बताए । गत पुस १६ गते पत्रकार सम्मेलन गरी दुवै सङ्घले सम्झौता कार्यान्वयनका लागि उपकुलपति, डीन र रजिष्ट्रारलाई पटकपटक ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेका कारण विश्वविद्यालयमा भएका बेथिति निस्तेज पार्न दबाबस्वरूप तालाबन्दीलगायत आन्दोलन गर्नुपरेको जनाएका थिए ।
यसअघि पनि केयू प्रशासनले आन्दोलनरत पक्षलाई माग सम्बोधन गर्ने आश्वासन दिँदा २१ दिनपछि तालाबन्दी खुलाइएको थियो । दुई सङ्घ गत साउन २३ गतेदेखि विभिन्न माग राख्दै पटकपटक आन्दोलनमा छन् । केयू प्रशासनसँग भएका विभिन्न वार्ता असफल भएपछि दुई सङ्घले चरणबद्ध आन्दोलनको घोषणा गर्दै आएका हुन् ।
अघिल्ला वार्तामा भएका केही मस्यौदा सिनेट बैठकमा लैजानुपर्ने भएकाले तालाबन्दी नखोली थप काम गर्न नसकिने स्कुल अफ साइन्सका डीन एवं काठमाडौँ विश्वविद्यालय परीक्षाका सुपरिटेन्डेन्ट प्रा डा कन्हैया झाले बताए । उनले भने, केही माग विशेषसभामा लैजानु पर्दछ, केही माग अप्राविधिक खालका छन्, दुवैतर्फ अविश्वास भएकाले वार्ता लम्बिएको मात्र हो ।
विश्वविद्यालयले पटकपटक गरेका सम्झौता कार्यान्वयनमा सधैँ छलकपटको रणनीति लिएकाले विरोधस्वरूप तालाबन्दी गर्नुपरेको प्राध्यापक सङ्घका सभापति डा वेदमणि दाहालले बताए ।
केयू प्रशासनले विशेषसभा बोलाएको र सो सभाका लागि प्रस्तुत गरिने प्रस्तावहरु कार्यकारी परिषदबाट निर्णय गरी सभा सदस्यलाई उपलब्ध गराएकाले आन्दोलनका थप कार्यक्रम मात्रै स्थगन गरेका हौँ , उनले भने । अघिल्ला वार्तामा विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डीन प्रा डा विजय केसी र सिनेटको शिक्षक प्रतिनिधि प्रा डा बालचन्द्र लुइँटेल तथा आन्दोलनरत पक्षबाट डा दाहाल र केसीलगायत सहभागी रहेका थिए । रासस
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६