नेपालगन्ज । अत्यधिक चिसो बढेसँगै बाँकेको नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका सामुदायिक विद्यालय ४ दिनका लागि बन्द गरिएको छ ।
ती पालिकाअन्तर्गतका शिक्षा समितिको निर्णयअनुसार, मंगलबारदेखि पुस १८ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हो ।
निरन्तरको शीतलहर र चिसोले यस क्षेत्रकै जनजीवन कष्टकर बनेपछि विद्यार्थीको सजिलोको लागि विद्यालय बन्द गर्ने निर्णय भएको नेपालगन्ज नगर शिक्षा समितिका प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए ।
यसैबीच, अत्यधिक चिसोका कारण नेपालगन्जका गरिब, असहाय, बेसहारा बढी प्रभावित भएपछि उपमहानगरपालिकाले आगो ताप्न टोल टोलमा दाउरा वितरण गरेको छ ।
उनीहरुलाई चिसोबाट जोगाउन उपमहानगरपालिकाले वडा कार्यालयमार्फत टोलटोलमा दाउरा वितरण गरेको सूचना अधिकारी शरद पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६