काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको कक्षा ११ को परीक्षाफल मंगलबार प्रकाशित गर्ने भएको छ । अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्डले यो वर्ष दुई साताअघि नै परीक्षाफल प्रकाशित गर्न लागको हो ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलका अनुसार भोलि मंगलबार बिहान बोर्डको बैठकपछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी बोर्डले गरेको छ । परिक्षाफल प्रकाशित गर्ने सम्बन्धमा आन्तरिक तयारी पूरा भएको पनि उनले बताए ।
बोर्ड अन्तर्गतको परिक्षा नियन्त्रण कार्यालयले भोलि दिउँसो परीक्षाफल प्रकाशित गर्ने गरी अहिले अन्तिम ट्याली गरिरहेको छ । बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गर्न लागेको हो ।
यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म सञ्चालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागी भएका थिए ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६