काठमाडाैं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मा कार्यरत कर्मचारीहरू विभिन्न ११ बुँदे माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।
सिटिइभिटी व्यवस्थापनसँग मिति २०७५ साल असाेज २१ र गत जेठ १३ गते भएको सहमति कार्यान्वयन गर्न मागसहित भदौ २५ गते सिटिइभिटीका सदस्य सचिव पुष्परमन वाग्लेको कार्यकक्ष बाहिर १ घण्टा धर्ना दिएर आन्दाेलन सुरु गरेका हुन् । उनीहरुले भदौ २६ गते दोस्रो दिन २ घण्टा धर्ना दिँदा पनि आफूहरूको माग पूरा गराउन सिटिइभिटीले कुनै चासो नदिएको भन्दै चरणबद्ध धर्ना तथा प्रदर्शन जारी राखेका छन् ।
धर्नामा सिटिइभिटी व्यवस्थापनसँग सेवा प्रवेशदेखी हालसम्म परिषदको केन्द्रीय कार्यालयभन्दा बाहिर नगएका कर्मचारीलाई तत्काल पहिलो चरणमा प्रदेश तथा शिक्षालयमा खटाउनुपर्ने, त्यसपछि क्रमशः बढी अवधि परिषद् कार्यालय बसेका कर्मचारीहरूलाइ प्रदेश कार्यालय तथा शिक्षालयमा खटाउनुपर्ने लगायतका ११ बुँदे मागहरू सहितको कालो ब्यानर समेत टाँगेका छन् ।
हाल दोस्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार राष्ट्रिय कर्मचारी संगठन केन्द्रिय कार्यालयमा काम गर्ने ७५ जनाको टोलीले धर्ना सुरु गरेकाे छ । उक्त संगठनका अध्यक्ष तेजबहादुर खत्रीको नेतृत्वमा बिहान १० बजे सुरु भएको धर्ना साँझ कार्यालय बन्द नहुँदासम्म जारी रहने ३ नम्बर प्रदेशका उपाध्यक्ष बिजेश बस्नेतले बताए ।
संस्थागत सुधारका लागि आफ्ना माग पूरा नभए संगठनमा आबद्ध ४७ वटै इकाई कमिटी परिचालन गरी देशैभर धर्ना र प्रदर्शन गर्ने उक्त संगठनको योजना छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६