काठमाडौंः सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले संसदमा भाँचिएको कुर्सी राख्दा ज्यान जोगाई पाउँ भन्नुपर्ने अवस्था आएको बताएका छन् । आइतबार संसद बैठक कक्षमा भाँचीएको कुर्सी हटाउने व्यवस्था गर्न सभामुख मार्फत संसद सचिवालयको गम्भीर ध्यानाकर्षण पनि उनले गराए ।
सांसद अधिकारीले भाँचीएको कुर्सी नै देखाएर संसदको ध्यानाकर्षण गराए । बैठककक्षमा भाँचीएको कुर्सीको आधी भाग उचालेर देखाउँदै उनले भने, ‘४ पटक भयो सभामुख महोदय म यहाबाट लडेको । अहिले सम्म दुर्घटना भएको छैन, बाँचिएको छ । तर, यो कतिपटक भन्नुपर्ने हो संसद सचिवालयलाई रु आगामी दिनमा यस्ता कुर्सी कम्तिमा नराखियोस् । यो त धराप भयो । त्यसकारण यो त धेरै गम्भीर आपत्तीको विषय भएको हुनाले ज्यान जोगाई पाउँ भन्नुपर्ने अवस्था आयो । ”
उनको ध्यानाकषण संगै संसद बैठकमा सबै हाँसेका थिए । सभामुख कृष्णबहादुर महराले सांसद अधिकारीले उठाएको विषयबारे गम्भीर रुपले ध्यानाकर्षण भएको जनाए ।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६