काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पर्ने आरुबोटेमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गरेर यथाशक्य सत्यतथ्य पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएको बताएका छन् । बुधबार राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सार्वजनिक महत्वको विषयमा समय माग गरेर सामूहिक हत्याकाण्डका बारेमा सदनलाई जानकारी गराउँदै गृहमन्त्री थापाले घटनाको अनुसन्धान गरेर सत्यतथ्य पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएको जानकारी गराएका हुन् ।
उनले आगामी दिनमा यस्ता जघन्य अपराध हुन नदिन पनि सुरक्षा निकायलाई सजग र सचेत रहन गृह मन्त्रालयले निर्देशन दिएको बताए । उनले भने, ‘सामूहिक हत्याकाण्डको अनुसन्धान जारी छ । घटनाको अनुसन्धान गरेर यथाशक्य सत्यतथ्य पेस गर्न मातहतलाई निर्देशन दिइएको छ । ‘आगामी दिनमा यस्ता खाले अपराध हुन नदिन सजग र सचेत रहन सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।’’
उनले मिक्लाजुङ गाउँपालिकाको सुरक्षा अवस्था सामान्य बनाइराख्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तैनाथ गरिएको पनि बताए । हत्या गरिएका नौ जना र रुखमा झुण्डिएको अवस्थामा फेला परेका व्यक्ति गरी १० जनाको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको उनले जानकारी दिए ।
उनले घटनामा ज्यान जोगाउन सफल १२ वर्षीया बालिका सीता खजुमको दमकमा उपचार भइरहेको पनि बताए । गृहमन्त्री थापाले घटनामा धारिलो हतियार प्रयोग भएको जानकारी गृहमन्त्रालयले पाएको बताए ।
सोमबार राति आरुबोटेका धनराज शेर्मा लिम्बू र बमबहादुर फियाक लिम्बूको परिवारका ९ जनाको हत्या भएको थियो । धनराजको घरमा पाँचवटा र बमबहादुरको घरमा चारवटा शव फेला परेको थियो ।
यसैबीच बमबहादुरका कान्छा छोरीज्वाँई मानबहादुर माखिम सामूहिक हत्या गरिएको स्थानबाट करिब २५ किमीको दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६