पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीका शेरबहादुर गुरुङले स्थानीय दुई विद्यालयको भौतिक पूर्वाधारलगायत दिगो आम्दानीका लागि आफ्नो २४ रोपनी जग्गा निःशुल्क प्रदान गरेकाे छ ।
गुरुङले जन्मगाउँमा रहेका दुई सामुदायिक विद्यालयका लागि आफ्नो सबै खेतबारी प्रदान गर्नुभयो । फलामखानी आधारभूत विद्यायलाई १० रोपनी र मदन आश्रित माध्यमिक विद्यालयलाई १४ रोपनी जग्गा प्रदान गरेकाे हाे ।
जिल्लाको विकट गाउँमा रहेका यी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आयआर्जन गर्न सकिने खालका फलफूल, जडीबुटी वा रुखबिरुवा र घाँस बिक्री गरेर आम्दानी गर्न सकुन् भनेर आफ्नो खेत, बारी र खरबारी तथा वनसमेत विद्यालयलाई हस्तान्तरण गरिएको उनले बताए ।
हाल रूपन्देहीको मणिग्राममा बस्दै आउनुभएका जग्गादाता गुरुङले शिक्षा क्षेत्रको विकास भए मात्र समाज समृद्ध हुने ठानेर विद्यालयका लागि जग्गा प्रदान गरेको जानकारी दिए ।
पूर्व राष्ट्रियसभा सदस्यसमेत रहनुभएका गुरुङले आफू जन्मेका गाउँका विद्यालयमा गुणस्तरीय पढाइ सञ्चालन गरी स्थानीयवासीलाई गाउँमै बस्ने वातावरण सिर्जना होस् भनेर जग्गा प्रदान गरेको बताए ।
यसैबीच विद्यालयलाई जग्गा र नगद उपलब्ध गराएको तथा गाउँको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै जग्गादाता गुरुङलाई दुवै विद्यालयले मङ्गलबार सम्मान पनि गरेका छन् । कार्यक्रममा दुवै विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई गुरुङले जग्गाको लालपुर्जा हस्तान्तरण गरेकाे थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६