विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । बिहीबार बोलाइएको प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
संसद् सचिवालयका अनुसार अर्को बैठक वैशाख २२ गते आइतबार बस्ने छ । प्रदेश १ को स्थायी राजधानी र नामको प्रस्ताव दर्ता गर्न बिहीबार अन्तिम दिन तोकिएको थियो ।
तर सत्तारुढ दल नेकपाभित्रै सहमति जुट्न नसकेपछि प्रदेशसभाको बैठक रोकिएको हो । प्रदेशको राजधानी र नामको सन्दर्भमा नेकपाका प्रदेश सांसद्हरूको बैठक अहिले विराटनगरको बिग होटलमा जारी छ । बैठकमा प्रदेशका सांसद् लगायत नेकपा नेताहरू सहभागी छन् ।
सत्तारुढ दल नेकपाले गर्ने निर्णयको पर्खाइमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत अन्य दलहरू छन् । बैठक स्थगित गर्ने विषयमा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी दल कांग्रेस लगायत अन्य दलहरूबीच सहमति गरिएको थियो ।
प्रदेश १ को प्रदेशसभामा पाँचवटा दलको प्रतिनिधित्व छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६