काठमाडौं : संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे बस्नेगरी संसदको चौथो अधिवेशन आह्वान गरेकी हुन् ।
बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेपछि छलफलसहित पारित हुनेछ । जेठ १५ गते संघीय संसदमा बजेट पेश गर्ने संवैधानिक व्यवस्था छ ।
त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदमा प्रस्तुत गर्ने प्रचलन छ । वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
चौथो अधिवेशनमा प्रतिनिधिसभामा कूल २७ विधेयक प्रस्तुत गर्ने तयारी छ । प्रतिनिधिसभाको विधेयक शाखामा दुई विधेयक चौथो अधिवेशनका लागि दर्ता भएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६