काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छन् । बेइजिङमा आयोजना हुन लागेको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा भाग लिन राष्ट्रपति बेइजिङ प्रस्थान गरेकी हुन् ।
राष्ट्रपति भण्डारी नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ मार्फत बिहान ११ बजे सियान हुँदै बेइजिङतर्फ प्रस्थान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
चीन भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले उच्चस्तरीय भेटवार्ता समेत गर्ने र केही सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको छ । राष्ट्रपति भण्डारी वैशाख १९ स्वदेश फर्किनेछिन् ।
राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए भने नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६