काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव आदिवासी जनताजाति र संघीयताविरोधी भएको बताएका छन् ।
राजधानीमा मंगलबार आयोजित आदिबासी आयोगका मुद्दा, चासो र अधिकारका बारेमा उच्चस्तरीय बहस कार्यक्रममा अध्यक्ष प्रचण्डले अधिकारका लागि अब हतियार उठाउन आवश्यक नभएको बताए । अब हिंसाबाट अधिकार प्राप्त हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ , उनले भने ।
विप्लव विगतदेखि नै संघीयता र जनजातिका अधिकारको विरोधी भएको आरोप लगाउँदै उनले भने, विप्लवहरूले जे भन्न खोजेका छन्, त्यो जनजातिको पक्षमा छैन, बुझिराख्नू है ।
संघीयता ठीक होइन भन्नेमा उनीहरू पहिलेदेखि नै रहेका भन्दै अध्यक्ष प्रचण्डले मुलुकमा भइरहेका पछिल्ला गतिविधिले परिवर्तनलाई संस्थागत गर्न नदिन प्रयास भइरहेका देखिएको बताए ।
आफू अमेरिका जाँदा भएका गतिविधि र मुलुकमा पूर्वराजादेखि केही राजनीतिक दलहरूले गरिरहेका गतिविधिले नेपालको इतिहासदेखि भइरहेको अस्थिरतालाई सम्झाएको उल्लेख गरे ।
२००७ सालमा विपीले गरेको क्रान्तिलाई २०१७ सालमा उल्ट्याइएको र २०४७ सालमा गणेशमानसिंहहरूले गरेको परिवर्तन संस्थागत हुन नपाउँदै उल्टिएको प्रचण्डको भनाइ थियो । उनले नेपालमा ८-१० वर्षमा राजनीतिक परिवर्तन हुने गरेको स्मरण गर्दै २०६२ मा भएको परिवर्तन गुणात्मक भएको र यसलाई उल्ट्याउन खोज्नेलाई रोक्ने क्षमता आफूहरूसँग भएको पनि बताए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६