काठमाडौं : नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्ष पूरा भएको छ । छरिएर रहेका कम्युनिस्ट पार्टीहरुले विभिन्न स्थानमा आ–आफ्नै तरिकाले स्थापना दिवस मनाउँदैछन् ।
वि.सं. २००६ साल बैशाख ९ गते अर्थात अप्रिल २२ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतिदेवी श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक हुन् । पुष्पलाल श्रेष्ठ नेकपाका संस्थापक महासचिव हुन् ।
कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्ष पुग्दा विभिन्न गुटउपगुटमा विभाजित छन् । हाल नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा रहेको छ भने बाहिर पनि करिब एक दर्जन कम्युनिस्ट पार्टी क्रियाशील रहेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा सोमबार विशेष कार्यक्रमको आयोजना गरेको छ । कमलादीमा हुने कार्यक्रमलाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
सोही कार्यक्रमबाट तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकता भएर निर्माण भएको नेकपाको एकता प्रक्रिया टुंगिएको घोषणा पनि गर्ने तयारी रहेको छ । आइतबार बेलुका बसेको सचिवालयको बैठकले ७७ वटै जिल्लाका अध्यक्ष तथा सचिवको टुंगो लगाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६