काठमाडौं : हिन्दू राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि सयौं प्रदर्शनकारी घाइते भएको राप्रपाले जनाएको छ ।
पुतलीसडकमा आज राप्रपाले हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शन गरेको थियो । प्रहरीको हस्तक्षेपबाट घाइते भएकाहरूको मोडल अस्पतालमा उपचार भइरहेको छ ।
राप्रपाकी सांसद कान्ता भट्टराईका अनुसार अध्यक्ष कमल थापालाई लाठी नलागे पनि अन्य सयौँ घाइते भएका र उनीहरूको भृकुटीमण्डपस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
अध्यक्ष थापा पनि यही अस्पतालमा घाइतेहरू भएकै ठाउँमा भएको उनले बताइन् ।
सांसद भट्टराईका अनुसार प्रहरीले पूर्वसहायक रथी तथा पूर्वराजदूत भरत रायमाझी, विद्यार्थी नेताहरू यदेशबहादुर सिंह र निराजन बम, पूर्वमन्त्री विक्रम थापालगायत दर्जनौँ युवा विद्यार्थी नेता र कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
बाटो अवरुद्ध गरेका कारण राप्रपाको कार्यक्रममा हस्तक्षेप गरी भिडलाई तितरवितर पारिएको तर कुनै नेतालाई पक्राउ नगरिएको प्रहरीले बताएको छ ।
हेर्नुहोस् फोटो :





प्रकाशित मिति: सोमबार, चैत २५, २०७५