काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध अनुशासन समितिमा उजुरी परेको छ । सभापति देउवाले सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्न दिएर अनुशासन तोडेको उजुरीमा आरोप छ ।
कांग्रेसका तर्फबाट प्रदेशसभा सांसदका उम्मेदवार बनिसकेका गोरखाका राजेन्द्र बजगाईंले बिहीबार सभापति देउवाविरुद्ध कारवाही माग गर्दै उजुरी दायर गरेका हुन् । नेपाली कांग्रेसको संसदीय दल तथा प्रमुख प्रतिपक्ष दलका नेता माननीय शेरबहादुर देउवाज्यूले नेपाल कम्युनिष्ट पार्टीको सम्माननीय खड्गप्रसाद ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सर्वसम्मतिले पारित गर्न किन दिनुभयो ? , उजुरीमा उल्लेख छ, यसबाट संसदीय मयार्दामा चोट मात्र पुगेन कि सिंगो पार्टीको साख गिरेको छ । यसकारण माननीय श्री शेरबहादुर देउवामाथि कारवाही नेपाली कांग्रेसको विधानअनुसार हदैसम्मको गरियोस् भनी माग गर्दछु ।
उजुरीको पूर्णपाठ–
श्रीमान् संयोजक ज्यू,
केन्द्रीय अनुशासन समिति
नेपाली कांग्रेस, सानेपा, ललितपुर ।
विषय : कारवाही गरिपाउँ ।
महोदय,
नेपाली कांग्रेसको गौरवशाली ईतिहास निर्माणक्रममा हामीले यो पार्टीको स्थापनाको मूल उद्देश्य चार ताराहरुको प्रतिबिम्बमा एक प्रमुख विम्व ‘व्यक्तिगत स्वतन्त्रता’ लाई शीरमा राखेर यसभित्र आफूलाई दरिलो रुपमा आबद्ध गराएका छौं । पार्टीको १३ औं महाधिवेशनबाट निर्वाचित श्रद्धेय सभापति एवं पूर्व प्रधानमन्त्री माननीय शेरबहादुर देउवाज्यूको स्वर्णिम जवानी स्वतन्त्रता स्थापनार्थ बितेको यथार्थ सत्य जगजाहेरै छ । त्यस कर्महरुप्रति मेरो पूर्ण सम्मान छ ।
संयोजकज्यूको अनुमतिले मैले यहाँ प्रसंग बलेको छु र मेरो मात्र एक आरोप यहाँ दर्ज गर्न चाहन्छु । यसपहिले माननीय सभापति शेरबहादुर देउवाज्यूबाट आफ्नो नेतृत्वमा स्थानीय, प्रदेश र संघीय तिनै तहको निर्वाचन सम्पन्न गरी बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गरेको गौरवमय ईतिहास कायम गरेको छु भनी निर्वाचन पश्चात् पर्टीको नयाँ दस्तावेजमा उल्लेख गरिनु यो पार्टीको सिंगो ईतिहासलाई बंग्याउनु हो भन्ने मेरो निष्कर्ष छ । निर्वाचन एक लोकतान्त्रिक सरकारको नियमित र श्वासप्रश्वास जस्तै प्रक्रिया भएपनि यसलाई गौरवमय ईतिहासको रुपमा पार्टीमा दर्ज गराउनु प्रधानमन्त्री र पार्टी सभापति भईसकेको व्यक्तिका लागि शोभनीय होइन भन्ने मेरो ठहर छ ।
श्रद्धेय सभापतिज्यूले पूर्व प्रधानमन्त्रीदेखि वरिष्ठ नेताको भूमिकाहरुको कालखण्डमा सरकार निर्माण र विगठनहरुमा लोकतान्त्रिक पद्धतिहरुको प्रचुर दुरुपयोग भएका ईतिहास विद्यमान छन् , जुनजस्तै टहटह छन् । तमाम अलोकप्रिय कदमले पार्टीदेखि जनपंक्तिहरु निराश छन् । फलतः दोस्रो संविधानसभाबाट पहिलो बनेको पार्टी र त्यसको नेतृत्वमा महाप्रस्थानको आधा गन्तव्यबाटै प्रातःस्मरणीय श्रद्धेय सुशिल कोइरालाज्यूबाट जिम्मा लगाइएको पार्टीको शर्मनाक हार गराउनु भएको त छँदैछ ।
मैले माथि माग गरेको कारवाहीको प्रश्नमा यो छ कि नेपाली कांग्रेसको संसदीय दल तथा प्रमुख प्रतिपक्ष दलका नेता माननीय शेरबहादुर देउवा ज्यूले नेपाल कम्युनिष्ट पार्टीको सम्माननीय खड्गप्रसाद ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सर्वसम्मतिले पारित गर्न किन दिनुभयो रु यसबाट संसदीय मयार्दामा चोट मात्र पुगेन की सिंगो पार्टीको साख गिरेको छ । यसकारण माननीय श्री शेरबहादुर देउवामाथि कारवाही नेपाली कांग्रेसको विधानअनुसार हदैसम्मको गरियोस् भनी माग गर्दछु ।
राजेन्द्र बजगाई
महासमिति सदस्य, नेपाली कांग्रेस
गोरखा क्षेत्र नम्बर १
प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५