काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट उपगुट नचल्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेकपाको ३ नम्बर प्रदेश कमिटीका पदाधिकारीहरूको सपथ ग्रहण तथा प्रथम बैठकलाई आज सम्बोधन गदै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नेतृत्वले कसैलाई पनि काखा र पाखा नगर्ने स्पष्ट पारे ।
‘दुई पार्टी एकताको अर्थ यो हो कि हामीमा गुट उपगुट छैनन्’, प्रधानमन्त्री ओलीले भने, ‘हामी वैचारिक रूपमा स्पष्ट र सांगठनिक रूपमा बलियो पार्टी हौं । त्यसैले यहाँ अन्तरकुन्तरबाट गुट सञ्चालन गरेर पार्टीलाई कमजोर र कार्यकर्तालाई अन्यौल पार्ने काम कसैले पनि गर्नुहुँदैन । पार्टी कमजोर हुँदा नेताहरू कोही जेलमा थियौं, कोही भूमिगत अवस्थामा थियौं । तर सबल हुँदा हामी सरकारमा छौं । त्यसकारण पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्दछ ।’

प्रधानमन्त्री ओलीले नेकपाको एकता भवितव्य नभएको बताएका छन् । लामो बहस, छलफल र देशप्रतिको जिम्मेवारीका कारण पार्टी एकता सम्भव भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘नेकपा भवितव्य भएर ठूलो पार्टी भएको होइन, पानी बर्सेजसरी बहुमत बर्सेको होइन’, प्रधानमन्त्री ओलीले भने, ‘यसमा जनताको विश्वास, पार्टीको दृष्टिकोण र देश बनाउने प्रतिबद्धतालाई जनताले अनुमोदन गरेका हुन् ।’
वर्तमान सरकारलाई कम्युनिस्ट नेतृत्वको मात्र नभई कम्युनिस्ट पार्टीको सरकार भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘विगतमा हामीले कम्युनिस्ट नेतृत्वको सरकार मात्र बनाउन सक्यौं । तर अहिले नेतृत्व मात्र होइन सरकार नै कम्युनिस्ट पार्टीको छ । त्यसकारण हामीले चुनावमा गरेको प्रतिबद्धता अनुसार जनताको पक्षमा काम गर्छौं ।’
प्रधानमन्त्री ओलीले पार्टी एकताका कारण कतिपय क्षमतावान् कार्यकर्ताले जिम्मेवारी नपाए पनि धैर्य गर्न सुझाव दिएका छन् । ‘पार्टी एकताका कारण कतिपय सक्षम नेता कार्यकर्ताहरूलाई पनि जिम्मेवारी दिन सकिएको छैन’, प्रधानमन्त्री ओलीले भने, ‘पानीले आफ्नो आकार आफैं ग्रहण गरे जस्तै सक्षम कार्यकर्ताहरूले पार्टीमा आफैं स्थान आफैं बनाउनुहुने छ । निराश नहुनुस् । कामलाई निरन्तरता दिनुहोस ।’
प्रधानमन्त्री ओलीले पार्टी एकताको काममा केही ढिलाइ भए पनि अब प्रतीक्षाको घडि सकिएको बताए । ‘पार्टी एकताका लागि केही बिलम्ब भएकै हो’, ओलीले भने, ‘तर अब प्रतीक्षाको घडी सकिएको छ । चाँडै तल्ला तहका कमिटीको एकताले पनि पूर्णता पाउने छ ।’
प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५