काठमाडौं : सरकार प्रतिबन्धित विप्लव नेतृत्वको नेकपामाथि थप आक्रामक देखिएको छ । आइतबार गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै नेकपालाई प्रत्यक्ष, परोक्ष सहयोग गर्ने सबैलाई कारबाही गर्ने चेतावनी दिएको हो । फागुन २८ गते सरकारले विप्लव नेकपाका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
गृह मन्त्रालयले जारी गरेको सूचनामा आपराधिक तथा विध्वंशात्मक क्रियाकलापमा प्रत्यक्ष र परोक्ष रूपमा आर्थिक तथा अन्य सहयोग गर्नेहरूलाई पनि कारबाही गर्ने जनाइएको छ । ‘कोही कसैले जबरजस्ती आर्थिक सहयोग माग गर्नेरधम्की दिने कार्य भए गरेमा सो को सूचना तत्काल नजिकको प्रहरी प्रशासनलाई दिन अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यस्ता समूहलाई आर्थिक सहयोग गरेको पाइएमा त्यस्तो सहयोग दिने र लिने वा अन्य कुनै किसिमको सहयोग गर्ने गराउनेसमेतलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ।’
विप्लव समूहले पछिल्लो समय विद्यालय, कर्मचारी, व्यापारी र जनप्रतिनिधिलगायतसँग चन्दा उठाउन थालेपछि सरकार थप आक्रामक देखिएको हो ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०७५