काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनको आधार वर्षका चालु आर्थिक वर्ष सफल भएको बताएका छन् । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उनले तीन सरकार र तीन संसद्का बीचको अधिकारको बाँडफाँड सहजताका साथ सम्पन्न भएको उल्लेख गरे ।
जटिल र उल्झनयुक्त बन्न नदिई सहज तरिकाले तीन तहको शक्ति बाँडफाँड सम्पन्न भए, भ्रष्टाचार नियन्त्रण, अपराधी पत्ता लगाएर कारवाही, एकाध घटनामा अपराधी पत्ता नलागे पनि आमअपराधी पत्ता लागेका छन्, सुनकाण्डमा मात्र ४१ जनालाई कारवाही गरिएको छ , उनले भने ।
अख्तियारका आयुक्त राजीनामा दिएर भाग्नुपरेको र वाइडबडीमा अख्तियारले छानविन गरिरहेकाले सकिएपछि हत्कडी लगाइने उनको प्रतिबद्धता थियो । कृषिको आधुनिकीकरण हुँदै गएको, लगभग ८०० किमी बाटो कालोपत्रे भएको, धेरै सडकको शिलान्यास भइरहेको, सुरुङमार्ग प्रारम्भ भएको, द्रुतमार्गको काम भइरहेको र धेरै क्षेत्रमा विकास निर्माण कार्य विगत वर्षमा भन्दा यस पटक द्रुत गतिमा अगाडि बढेको छ , प्रधानमन्त्री ओलीले भने ।
सात प्रतिशत बढी उत्पादनको लक्ष्य कसैले नराखेको स्मरण गर्दै उनले आफ्नो पहिलो कार्यकालमा निर्धारित लक्ष्य पूरा भएको बताए । यस वर्षमा संवैधानिक, कानुनी, पूर्वाधार निर्माण, समायोजन, परराष्ट्र नीतिका हिसाबले राम्रो प्रगति हासिल भएको उनले सुनाए ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्ना कुरा राखी उपलब्धि हासिल गरेको, नीतिगत स्पष्टता बढेको, विखण्डन समाप्त भएकाले भौगोलिक अखण्डता सुदृढ भई एकता कायम भएको र स्वतन्त्र मधेस गठबन्धन भनेकाहरू जनमत नाम राखी दल दर्ताको प्रक्रियामा अघि बढ्नु सकारात्मक भएको उनको भनाइ थियो ।
देशको स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताका बारेमा जनमतसङ्ग्रह हुन नसक्ने उनले प्रष्ट पारे । अरू विषयमा जनमत लिन सकिए पनि प्रतिगमनका लागि जनमतसङ्ग्रह नगरिने प्रधानमन्त्रीले बताए । विप्लवलाई बम पड्काउन दिइनेछैन । अमूर्त गिरोह बनाएर मान्छे मार्ने, चन्दा माग्ने, लुटपाट गर्ने, विद्युत्गृह, टेलिफोन टावरमा बम हान्ने, जन्तीको गाडीमा बम हान्नेलाई कारवाही हुन्छ, ब्याक गियर हुँदैन, हतियार बुझाउने समय दिएका छौँ, बुझाउनुपर्छ, नबुझाए नियन्त्रण हुन्छ , उहाँले भन्नुभयो ।
प्रमुख प्रतिपक्षले उठाउने विषय नपाएर आपत् परेको जस्तो देखिएको उनले बताए । प्रमुख प्रतिपक्षीको ध्यानाकर्षणले सरकारलाई सहयोग पुगेको प्रधानमन्त्रीले उल्लेख गरे । प्रधानमन्त्रीले भने, वाइडबडीलगायत अरू भ्रष्टाचारको छानविन हुन्छ । सतर्क भएर सरकारले काम गरिरहेको छ ।
सङ्घीय संसद्को पहिलो वर्षको तेस्रो अधिवेशन सफल रहेको बताउनुहुँदै उनले सुशासन र विकासमा सरकारको सम्पूर्ण ध्यान गएको सुनाए । यस वर्ष समयमै विद्यालयमा पाठ्यपुस्तक पुर्यायाउने प्रतिबद्धता व्यक्त गर्दै उनले धेरै विकसित देशमा भन्दा नेपालको तीनै तहका सरकार र संसद्मा महिलाको उपस्थिति राम्रो रहेकाले अझै उपलब्धि एवम् सामाजिकीकरणको काम सरकारले गर्ने बताए ।
जिल्ला जाँदा त्यहाँका समस्या ल्याएर आगामी वर्षे अधिवेशनबाट समाधानको प्रयास गर्नुपर्ने उनको भनाइ छ । सोमबारसम्मका लागि नेपालको पानी जनताको लगानी कार्यक्रममा ३७ करोड शेयरका लागि आवेदन भएको प्रधानमन्त्रीले बैठकमा जानकारी दिए ।