काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काभ्रेको काफलडाँडामा पार्टीले चलाएको संगठन सुदृढिकरण तथा विस्तार अभियानमा सहभागीलाई पक्राउ गरेको घटनाले संकटललाई स्मरण गराएको जनाएको छ ।
सो पार्टीको मध्यकमाण्डका इन्चार्ज हेमन्त प्रकाश ओली सुुदर्शनले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका निहत्था कार्यकर्ता विशाल तामाङ, नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई पक्राउ गरी दोहोरो गोली हानाहानको बकबास गरेको आरोप लगाएका छन् ।
अहिले प्रहरी तथा सुरक्षा निकायमाथि आक्रमण गर्ने कुनै नीति नरहेको भन्दै पार्टीको निशाना दलाल पुँजीवाद भएको उल्लेख गरिएको छ ।
सरकारले गत फागुन २८ गते सो पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि दर्जनौं नेता कार्यकर्ता पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्कीसमेत रहेका छन् ।
विप्लवको नेकपाको मध्य कमाण्डद्वारा जारी विज्ञप्तिमा कार्कीसहित पक्राउ परेका सबै नेता कार्यकर्ताको रिहाई गर्न माग समेत गरिएको छ । आफ्नो पार्टीका नेता कार्यकर्ताको रिहाई नगरे जनप्रतिरोधका कारबाही अघि बढाउने सो पार्टीले उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सीआईबीका नाममा परिचालित सरकारी गुप्तचर एजेन्सीले जनयुद्धकालमा सेनाको भैरवनाथ गणको भूमिका निर्वाह गर्न थालेको प्रत्यक्ष अनुभूति हुन थालेको छ । यसकारण हामी यो सरकार, गृह प्रशासन, गृह प्रशासनअन्र्तगत विभिन्न सुरक्षा निकायका प्रमुख अधिकारीहरूले देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा यी अपराधहरूलाई संस्थागत गर्न खोजेको कुरा आमजनसमुदायमा अवगत गराउन चाहन्छौँ ।’

प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५