काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली) पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गरेकी छन् ।
आज फागु पूर्णिमा (होली) का अवसरमा राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै यस पर्वले सबैमा नयाँ उमंग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।
सन्देशमा नेपालको मौलिक पहिचान स्थापित गराउँदै राष्ट्रपतिले सांस्कृतिक पर्यटनमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्न टेवा पुग्ने बताइन् ।
होलीजस्ता पर्वले अमूल्य संस्कृतिहरुको संरक्षण र प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रहसमेत उनले शुभकामना सन्देशमा व्यक्त गरेकी छन् ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्रका हामी नागरिक भाषा, कला, संस्कृतिले अत्यन्तै धनी रहेको बताएका छन् ।
होली पर्वका अवसरमा आज उहाँले एक शुभकामना सन्देश दिँदै काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली भेगमा फागु पूर्णिमाको दिन र तराई–मधेशमा भोलिपल्ट भव्यरुपमा मनाइने यस पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, सद्भाव, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन् ।
उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद समयमा आउने यस पर्वले सप्तरंगी जस्तै रंगीन नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास लिएको छु ।’
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५