काठमाडौं : २०५२ देखि २०६३ सालसम्म चलेको हिंसात्मक द्वन्द्वका दोषीलाई कारबाहीको माग गर्दै संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा मंगलबार ज्ञापनपत्र बुझाइएको छ।
प्रा.डा. गोविन्द केसी, अधिवक्ता ओमप्रकाश अर्याल, इन्जिनियर प्रतिम सुवेदी र अधिवक्ता शिवहरि तिमिल्सिनाद्वारा हस्ताक्षित ज्ञापनपत्र मंगलबार संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा बुझाइएको हो ।
शृंखलाबद्ध मानवताविरोधी अत्याचार र त्यसबाट पीडित भएका व्यक्तिका पीडाको साक्षी हामी पनि हौँ । आफ्नो देश, समाज र छरछिमेकमा भएका मानवताविरोधी अत्याचारबाट पीडित व्यक्तिले न्याय नपाएको, बरु हिंसा, प्रतिहिंसा, भ्रष्टाचार र कालोधनको बलमा सर्वसत्ता कब्जा गर्न सफल आततायी पीडक पक्षकै रजगज झन् घनीभूत हुँदै गएको स्थितिले हामीलाई अत्यन्तै चिन्तित बनाएको छ , छ बुँदे ज्ञापनपत्रमा भनिएको छ, यस स्थितिमा सक्रिय नागरिकको रूपमा देश, समाज, पीडित तथा समग्र मानव समुदायप्रति कर्तव्यबोधसहित गम्भीर ध्यानाकर्षण गर्दछौँ।
ज्ञापनपत्रमा सशस्त्र द्वन्द्वको समयमा भएका गम्भीर अपराधका घटना मानवताविरुद्धको अपराध भएकाले उक्त अपराधका दोषीलाई फौजदारी कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५