सप्तरी : सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही थालेको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका- १ का ३२ वर्षीय मो. जियाउल हकको अपहरण प्रयास गरेको आरोपमा सोही ठाउँका ५१ वर्षीय मलाबकस मियाँ र ५० वर्षीय रासलाल साहलाई पक्राउ गरी कारवाही थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बोदेबर्साइन नगरपालिका– ५ मा तयारी शृङ्गार र कपडा पसल सञ्चालन गरेर बसेका हकलाई गत फागुन २५ गते पसलबाट घर फर्कने क्रममा बाटाबाटै अपहरण गर्न खोजिएको थियो । अपहरण गरी भारततर्फ लैजान लागेको बेला सीमा सुरक्षा बलका भारतीय प्रहरीले रोकी सोधपुछ गर्न थालेपछि अपहरणकारी भागेको र आफ्नो ज्यान जोगिएको हकले बताए । सीमा सुरक्षा बलका भारतीय प्रहरीले समेत सो कुराको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए ।
पसल बन्द गरी मोटरसाइकलबाट घर फर्किरहेका बेला हतियारसहित नकाव लगाएका आठ–दश अपहरणकारीले कुटपिट गरी अपहरण गर्न खोजेको हकले बताए । अपहरणकारीसँग कटुवा पेस्तोलसमेत रहेको थियो, गम्छाले हात बाँधेर डाकनेश्वरीको हाेटेल हुँदै भारतको लौकहीतर्फ लैजान लागेको बेला भारतीय प्रहरीको टोलीका कारण म जोगिएँ , उनले भने । कुटपिटबाट घाइते हकको पिँठ्युभरि नीलडाम लागेको छ भने टाउको फुटेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराएका हकको हाल न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
- रासस
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५