काठमाडौं : विवेकशील साझा पार्टीले मेडिकल कलेजहरूले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौं ठगी गरेका पछिल्ला समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवाका क्षेत्रमा नाफाखोर व्यवसायीकरणको नीतिले गर्दा अभिभावक र विद्यार्थी निरन्तर रूपमा मारमा परेको बताउँदै तोकिएभन्दा बढी शुल्क लिने दोषी कलेजलाई कारबाही गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।
तोकिएको भन्दा बढी शुल्कले विद्यार्थी र अभिभावकलाई मर्का पर्न गएकामा आवश्यक कदम चालेर बढी शुल्क लिइएकाको हकमा सो शुल्क फिर्ता र आइन्दा तोकिएको भन्दा थप शुल्क लिने सम्पूर्ण शैक्षिक संस्थाको मनोमानी प्रवृत्तिलाई निरुत्साहित गर्न तत्काल कडा कदम चाल्न सरकारसँग माग गर्दछौं, विज्ञप्तिमा भनिएको छ । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सामाजिक सेवामा राज्यको दायित्वसहित नागरिकको सहज र न्यायोचित पहुँच सुनिश्चितका लागि आवश्यक कानुनी व्यवस्था गर्न पनि विवेकशील साझा पार्टीले माग गरेको छ । -रासस
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५