विराटनगर ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रदेश कमिटीका सदस्यलाई कुशल संगठक, सही विचारका संवाहक र अनुशासनका प्रतिमूर्तिका रूपमा समाजमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।
नेकपा प्रदेश कमिटी प्रदेश १ को पहिलो बैठक तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै आइतबार उनले त्यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक चेतना र विकास निर्माणका अभियन्ताका रूपमा सफलता मिलोस् भन्ने शुभकामना समेत दिए ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई जनताले दुई तिहाइ बहुमत दिएको हुनाले यो सरकार नै जनसरकार भएको बताए । ‘ती जनताकै लागि सरकारले काम गरिरहेकाले यो सरकार नै जनसरकार हो,’ प्रधानमन्त्री ओलीले भने, ‘ कम्युनिष्ट पार्टीको सरकार कस्तो हुन्छ भन्ने कुरा यो सरकारले देखाउनेछ ।’ आधुनिक देश, आधुनिक प्रदेश र आधुनिक स्थानीय सरकार कस्तो हुन्छ भन्ने देखाउन त्यही ढंगले काम गर्न उनले निर्देशन दिए । उनले प्रदेश कमिटी सदस्यहरूलाई स्थानीय तहलाई निर्देशन कम सुझाव बढी दिन सल्लाह दिए ।
प्रधानमन्त्री ओलीले आउँदो चुनावमा दुई तिहाइभन्दा बढी मतसहितको सरकार बनाउने दाबी गरे । ‘नेकपा वैचारिक हिसाबले स्पष्ट छ,’ प्रधानमन्त्रीले भने, ‘ हरेक राष्टिय मुद्दामा हाम्रो मत स्पष्ट छ ।’ प्रधानमन्त्री ओलीले शास्त्रीय मार्क्सवादभन्दा आजको समयअनुसार चल्न सक्ने मार्क्सवादको उपयोग गर्नुपर्नेमा जोड दिए । उनले मार्क्सवादले आजको समयअनुसार चल्न सक्ने सैद्धान्तिक दिशानिर्देश गरेको बताए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले १ नम्बर प्रदेशको धार्मिक र ऐतिहासिक महत्त्वको चर्चा गरे ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५