यो समय युवाहरूको हो l अब राजनीतिमा युवा जागरण र युवा हस्तक्षेप जरूरी मात्रै होइन अत्यन्तै जरुरी भैसकेको छ l नुतन संस्कृति र अभ्यास सहितको राजनीतिक संस्कार थालनी गर्ने उज्ज्वल थापाले बसाएको जगमा आज धेरै युवा युवती राजनीतिको रथ हाँक्ने जमर्कोमा छन् l गत स्थानीय निर्वाचनमा केही युवाहरू धरानमा हर्क साङ्पाङ् काठमाडौँमा बालेन्द्र शाह र पुराना पार्टी भित्र पनि युवा हस्तक्षेप सक्रियता र निगरानी बढेको छ l युवाहरूले चुनावको माध्यमबाट प्रवाह गरेको साङ्केतिक सन्देशको प्रभाव संघीय र प्रदेश निर्वाचनमा पनि मुखरित हुँदैछ l यही मेसोमा पाटन अस्पतालमा सर्जनको रूपमा कार्यरत डाक्टर तोसिमा कार्की राजिनामा दिएर ललितपुर क्षेत्र नं. ३ बाट संघीय संसदमा आफ्नो बेग्लै पहिचान सहित प्रतिनिधित्व गर्न कस्सिएर लागेकी छन् l चुनाव मार्फत विद्रोहको योजना कार्यन्वयन गर्न संसदमा छिर्ने कोशिशमा छिन् l पुरानादलहरूको सिन्डिकेट तोडेर इतिहास निर्माण गर्ने ध्याउन्नमा छन् l दलतन्त्रमा हुर्किएको सिन्डिकेटको जालो च्यात्ने पक्षमा छन् l अब परीक्षा युवाहरूले पनि दिनुपर्ने छ l पुरानाले देश बिगारे नयाँको आगमन जरूरी छ भन्नेले पनि दिनुपर्नेछ l महिला,युवा र नयाँ पार्टीको नयाँ विकल्पको प्रतिनिधित्व तोसिमाले गरेकी छन् l
को हुन् डाक्टर तोसिमा कार्की ?
ललितपुरको भैंसेपाटीमा बहुदलीय प्रजातन्त्र प्राप्तिको पूर्वसन्ध्यामा जन्मिएकी तोसिमा काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स हुन् l सहिद धर्मभक्त स्कुल नख्खुबाट एस.एल.सी. गरेकी तोसिमाले मोर्डन इन्डियन स्कुल चोभारबाट १२ कक्षा उत्तीर्ण गरी किष्ट मेडिकल कलेज ललितपुरबाट एमबीबीएस सकाएकी छन् l नेपाल मेडिकल काउन्सिलको सदस्यमा (२०७७) लोकप्रिय मतका साथ विजयी भएकी कार्की स्वस्थ नेपाल, सुखी नेपाली बनाउने लक्ष्य र अन्तरात्माको अभियानमा राजनीतिको माध्यमबाट देश परिवर्तन गर्ने होडमा निस्किएकी छन् l मेडिकल अभियन्ता र सामाजिक कार्यकर्ता तोसिमा आफ्नो अठोटमा प्रतिबद्द युवा हुन् l एक दशक भन्दा बढी समय आफ्ना निजी इच्छा र आकांक्षालाई सामाजिकीकरण गरेर अधिकारको खोज र कर्तव्यको परीक्षामा खारिनु सामान्य योग्यता होइन l समाज सेवा, मेडिकल अभियन्ता र सामाजिक समस्याको उठान गर्दै तोसिमा आफ्नो योग्यता,क्षमता र अनुभवलाई स्तरोन्नति गरिरहेकी पात्र हुन् l यसर्थ संसदमा उनको योग्यता र अनुभवमा शंका गरिरहनु पर्दैन l अयोग्यहरूको भिडमा योग्यतम उमेद्वारी हो तोसिमाको l सामाजिक अन्तरक्रिया गर्न रूची राख्ने तोसिमा विभिन्न मिडिया मार्फत आफ्नो धारणा र दृष्टिबोध पस्किरहेकी हुन्छिन् l तोसिमा बहुआयामिक छन् l
तोसिमाले के के गरिन् त ?
मेडिकल साइन्सकी विद्यार्थी हुनुको नाताले उनका धेरैजसो काम र संलग्नता स्वास्थ्य शिक्षा र यसको नीतिगत सुधार सहुलियत र सेवामा रहेको देखिन्छ:
मेडिकल कलेजहरूमा हुने अन्याय अत्याचार बेथिति र विसङ्गति विरुद्द इन्टर्न डाक्टर तथा मेडिकल विद्यार्थी आन्दोलनमा २०७१,२०७२ तिर नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन् l अस्पताल जस्तो संवेदनशील क्षेत्र र त्यसमा सेवारत स्वास्थ्यकर्मीमाथि गरिने भौतिक आक्रमणलाई न्यूनीकरण गर्दै सुरक्षाको प्रत्याभूतिको लागि विगत ७ वर्षदेखि विभिन्न चरणमा ‘सेभ मेडिकल फर्टिनिटि मुभमेन्ट’ को नेतृत्व गर्दै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी ऐनमा ‘Jail without Bail’ को अवधारणा समेटी संसोधन गर्न/गराउन सफलता पाएकी छन् l विनासकारी भूकम्पको बेला सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट र ललितपुरको थुप्रै ठाउँहरूमा स्वास्थ्य राहत वितरण र स्वास्थ्य शिविरको नेतृत्व गरेको अनुभव छ l शीतलहरले प्रभाव पारेका तराईका विभिन्न जिल्लाहरू सुनसरी रौतहटलगायतमा ‘जाडोमा न्यानो’ अभियानको नेतृत्व र बाढी र पहिरोले घर खेत बगाएका बेला सप्तरीको सुस्ता र सुनसरीका इनरुवा जस्ता बस्तीहरूमा राहत तथा उद्दार साथै स्वास्थ्य शिविर संचालन गरेर सेवाका हात बढाएकी छन् l २०७४/ २०७५ मा एमडी/ एमएस/ बिडीएस भर्नामा मेडिकल कलेजहरूले गरेको भ्रष्टाचार र बेथिति विरुद्द सर्वोच्चमा रिट दायर गरेर मेरिट लिस्ट अनुसार भर्ना गर्ने वातावरण निर्माण गर्न यथेष्ट पहल गर्दै आएकी छन् l ०७५ ०७६ मा त्रिवि मेडिकल कलेजहरूमा हुने स्नातकोत्तर भर्नाको शुल्क निर्धारण गरी लागू गराउन अहम् भूमिका खेलेकी छन् l डाक्टर गोविन्द केसीको स्वास्थ्य सेवामा सुधार परिवर्तन र फेरबदलको लागि भएको २० औ सत्याग्रहसम्म सडक आन्दोलन, व्यवस्थापन, सहजीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेर आफ्नो निष्ठा र लगावको परिचय प्रस्तुत गरिरहेकी छन् l कोभिड १९ को महामारीमा आफू निरन्तर ड्युटीमा रहेको र स्वास्थ्यकर्मीहरूलाई सुरक्षा सामग्री माग व्यवस्थापन गर्नुको साथै जनचेतनाको लागि थुप्रै सचेतनामूलक सामग्री उत्पादन गरेर सामाजिक सन्जाल मार्फत प्रचारप्रसार गरेर सामाजिक सूचना प्रदान गर्दै दायित्वमा पनि सचेत नागरिकको स्थान लिएर कर्तव्य निर्वाह गरेकी छन् l जनताको लागि अत्यावश्यक स्वास्थ्य सामग्री, अक्सिजन सिलिण्डर तथा होम आइसोलेशन लगायतको सहजीकरणमा अहोरात्र खटिएर सेवालाई धर्ममा रूपान्तरण गरेकी छन् l मेडिकल काउन्सिलमा निर्वाचित भएपछि चिकित्सक र चिकित्सकीय अभ्यासलाई प्रभावकारी बनाउन नीतिगत निर्णय गर्न निरन्तर भूमिका खेलिरहेकी छन् l सामाजिक न्यायका हरेकजसो अभियान र भ्रष्टचार विरोधी आन्दोलनमा सक्रियतापूर्वक सहभागिता जनाएको जस्ता कार्य तोसिमाका सामाजिकीकरणका प्रयास हुन् l डाक्टर कार्कीले तय गरेको स्वास्थ्य कार्यक्रम र प्राथमिकता देश भरको लागि उपयोगी हुनेछ l जसलाई उनले ललितपुर ३ सँग यसरी जोडने यत्न गरेकी छन् l आम जनमानसमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचको लागि उनका नीति,कार्यक्रम र प्राथमिकताहरू यस प्रकार छन् :
१) २०८०–८५ लाई स्वास्थ्य क्षेत्र सुधारको “स्वर्णिम पञ्च वर्ष ” को रुपमा ग्रहण गर्दै स्वास्थ्यको बजेटलाई बढाई १० प्रतिशत बढाउन पहल गर्नेछौँ ।
२) स्वास्थ्य विमालाई वैज्ञानिक अवधारणा अनुरुप सबैका लागी अनिवार्य विमा योजना प्रभावकारी बनाउन पहल गर्नेछौँ ।
३) Electronic Medical Record system को विकास गरी यसलाई राष्ट्रिय परिचयपत्रसँग आवद्द गराउन नेतृत्व लिनेछौँ।
४) ईमर्जेन्सी स्वास्थ्य सेवाका लागि तत्कालै उपलब्ध हुने गरी Emergency Health Loan वा विमा मार्फत उपचार हुने व्यवस्था गराउन नेतृत्व लिनेछौँ ।
५) आवश्यकताको सिद्दान्तअनुसार सबै स्वास्थ्य संस्थाहरुमा चिकित्सक लगायत स्वास्थ्यकर्मीको दरबन्दी बढाई स्वास्थ्य सेवा प्रवाह थप सुदृढ गराउन क्रियाशिल रहनेछौँ। साथै स्वास्थ्य संस्थाहरुमा तोकिएअनुसारका निःशुल्क औषधिहरु पर्याप्त मात्रामा सधैँ उपलब्ध हुने सुनिश्चितता गराउनेछौँ ।
६) प्रत्येक प्रदेशमा कम्तीमा एउटा सम्पूर्ण विशेषज्ञ अस्पताल सन्चालनमा ल्याउनेछौँ । प्रत्येक अस्पतालमा ब्लड बैंक, फार्मेसी र एम्बुलेन्स सेवा उपलब्धताको सनिश्चितता गराउनेछौँ।
७) चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका मुद्दाहरुमा डा. गोबिन्द के.सी.सँग सरकारले गरेका सम्झौताहरु लागु गराउनेछौँ ।
८) एकिकृत राष्ट्रीय ट्रमा तथा दुर्घटना व्यवस्थापन प्रणाली बनाउन नेतृत्व लिनेछौँ ।
९) आम जनताले बिरामी पर्दा वा आकष्मिक अवस्थामा उपचार तथा अस्पताल सम्बन्धि जानकारी एवम् परामर्श लिन सक्ने “हेल्थ कल सेन्टर” २४ औँ घण्टा चालु हुने गरी सन्चालन गराउनेछौँ ।
१०) वडा तथा अर्वन हेल्थ सेन्टरहरुको स्तरोन्नति गर्दै MBBS डाक्टर, सामान्य ल्याब सेवा, प्राथमिक स्वास्थ्य सेवा, र सामान्य शल्यकृया को सुविधाहुने गरि सुदृढिकरण गराउनेछौँ ।
११) क्यान्सर (स्तन, पाठेघर, आन्द्रा, प्रोस्टेट आदी) को स्क्रीनिङका कार्यक्रमहरु निशुल्क र अनिवार्य हुने गरि व्यवस्था गराउनेछौँ ।
१२) जेष्ठ नागरिक तथा फरक क्षमताभएकाहरुका लागि आवस्यक सहयोग सामाग्री र स्वास्थ्य सेवा प्रदान साथै जेष्ठ नागरिक प्याकेज अन्तर्गत मासिक रुपमा स्वस्थ्य जाँच गर्ने व्यवस्था गराउनेछौँ ।
१३) स्वदेशी औषधितथा स्वास्थ्य सेवा सामाग्रीको स्तरोन्नती र उत्पादन बढाउन स्वदेशी उत्पादकलाई कर छुट लगायतको व्यवस्था गरि प्रोत्साहन गर्नेछौँ ।
१४) नेपालका औषधिमुलक बनस्पतिको उत्पादन, बजारिकरण र निर्यात बढाउन कार्यक्रम ल्याउनेछौँ ।
१५) अस्पतालको १० प्रतिशत बेड विपन्न बिरामीको लागि छुट्याईनु पर्ने नियमलाई व्यवहारमा सुनिश्चित गराउनेछौँ । प्रत्येक अस्पतालमा अनिवार्य रुपमा विपन्न बिरामी कोषको व्यवस्था गराउने, साथै सरकारी तथा निजी अस्पतालको केहि प्रतिशत विपन्न कोषमा जम्मा गर्नुपर्ने व्यवस्था ल्याउन पहल गर्नेछौँ ।
डाक्टर तोसिमाको समर्पण र लगाव गोविन्द केसीले उजागर गरेको नेपालको स्वास्थ्य समस्या र बेथितिसँग पनि बेस्सरी जोडिएको छ l उनले जाने बुझेदेखि गोविन्द केसीको अभियानमा संलग्न छिन् l एक सक्रिय अभियन्ताको रूपमा तोसिमा निरन्तर क्रियाशील छिन् l कतिपय व्यक्ति अभियन्ता गोविन्द केसीको सत्याग्रहको अभियानबाट पछाडि हटेका छन् l कतिले पलायन रोजेका छन् l उनलाई साथ दिने थोरै तर निरन्तर निस्वार्थ लागेका मध्येकी एक पात्र हुन् डाक्टर तोसिमा कार्की l निरन्तर निष्ठा र केसीप्रतिको समर्पणले डाक्टर कार्की केसीका हरेक अनशनमा केसीलाई साथ दिन जता भएर पनि दौडेर पुग्छिन् l काठमाडौँमा अनशन बस्दा होस् या जुम्ला,डडेल्धुरा र इलाम तोसिमा केसीको साथ रहन्छिन् सेवा सुसुश्रा गर्छिन l केसीको पीडा र अनशन बस्दाका शारीरिक कष्ट नजिक बसेर देखेकी छन् l कतिपय अवस्थामा केसीलाई सल्लाह दिने सम्झाउने काम पनि गरेको यो पङ्क्तिकारले देखेको छ l सरकारसँगका थुप्रै औपचारिक वार्ता सहमति र समझदारीमा तोसिमाले पर्दा भित्र रहेर उल्लेख्य भूमिका खेलेकी छन् l तोसिमाको यो सहयोग उत्साह समर्थन र समर्पण बारे डाक्टर केसीले पटक पटक यो पङ्क्तिकारसँग चर्चा गरेका छन् l उनको भूमिकाप्रति अनुगृहित रहेको बताएका छन् l एउटा बुलन्द सम्भावनायुक्त युवाको रूपमा तोसिमाको निष्ठाको मुल्याङ्कन गरेका छन् l
राजनीति जति अप्ठ्यारो र जटिल हुन्छ यसको प्राप्ति र उचाइमा पुग्ने परिकल्पना पनि त्यतिनै असहज र विकट हुन्छ । सोचेजस्तो र बोले जस्तो सजिलो क्षणिक कल्पनाको उडान हैन राजनीति । यो त निरन्तरको साधना हो, समर्पण हो, त्याग हो, अटुट लगाव धैर्य र धिरता हो । सुखमा नमात्तिने र दुःखमा नआत्तिने कठोर तपस्या हो । थुप्रै कष्टकर कहर काट्नु पर्नेछ, हुन्छ । साहास धैर्यता, बुद्धिमता र विवेकशील हुनुको हजारौं परीक्षा दिनु पर्ने र उत्तिर्ण गर्नुपर्ने छ । असफलता र पराजय अनि पराकाष्ठा झेल्नुपर्ने छ सहनु पर्नेछ बुझ्नु पर्ने छ । परिपक्वता र अनुभविको सर्टिफिकेट समाजको हातबाट ग्रहण गर्नुपर्ने छ ।
हाम्रो सामाजिक र राजनीतिक संरचना अनि परम्परागत समाजबाट छिटो र छोटो बाटोबाट लक्ष्यमा पुग्न सकिन्न, यो राजनीतिक समाजशास्त्रको नियम हो । समाज विज्ञानको छाप हो । परम्परागत रूपमा हुर्केको बढेको विश्वास हो जो सजिलै र तुरुन्तै तोडिन्न् । आफूले नयाँ र आधुनिक अनि फराकिलो बाटो नबनाएसम्म पूरानै घुमाउरो र अप्ठ्यारो काँढाघारीकै कष्टकर बाटोबाट नै यात्रा तय गर्नुपर्ने हुन्छ । अहिले हामी त्यस्तै घुमाउरो, साँघुरो र कठिन मार्गबाट नै यात्रा गरिरहेका छौ । जसलाई नयाँ बाटोमा रूपान्तरण गर्नु नितान्त आवश्यक छ । सहज छैन, कठिन छ तर असम्भव छैन । तर यो नयाँ बाटो बनाउन, बदल्न मूर्खतापूर्ण जोखिम उठाउनुपर्ने छ । परम्परागत नजरमा यो मूर्खतापूर्ण देखिए पनि यो साहस हो, यो बलिदान हो, यो अभिष्ट हो । यस्तै मूर्खतापूर्ण जोखिम उठाउने रहर गर्ने साहसी केटी बन्दैछन् तोसिमा र उनलाई प्लेट्फाम दिएको छ राष्ट्रिय स्वतन्त्र पार्टीले ।
निश्चय नै नेपाली राजनीतिमा गरिएको एउटा आयामिक प्रयोग हो । यसको स्वाद नेपाल र नेपालीले निकट भविष्यमा चाख्ने नै छन् । यसको नितान्त नौलो टेष्टबाट नेपालीहरु मोहित र सम्मोहित हुने दिन टाढा छैन् । जसको सुरुवात काठमान्डौका जनताले गरिसके । परम्परागत किल्ला शक्ति र सामर्थ्यमाथि काठमाडौं महानगर प्रमुखमा बालेनले टेकेको लौरोले धावा बोलेर राजनीतिमा अकल्पनीय नतिजा पनि आउँछ भन्ने प्रमाणित गरिसके । जनताको अभिमत यो प्रारम्भिक दिनमा जसरी प्रकट भएको छ त्यसले मैं हुँ भन्ने शक्ति र दलको मुटुमा ढ्यांग्रो ठोकिसक्यो जसको प्रमाण यत्रतत्र, सर्बत्र धेरैको बर्बराहटबाट भेटिन्छ । नयाँले केही गर्न सक्दैनन् भनेर प्रचारवाजी गरिएको छ देश बनाउने कुनै कुनै ठूलठूला भद्दा र बोक्रे सपना छैनन् । स्वैरकल्पना र उडन्ते सपना अनि जादुयी रंग छैनन छ त केवल यहीको वास्तविक र धरातलीय यथार्थ अनि समस्या त्यसको पहिचान र ब्यबस्थापकीय क्षमता छ ।
पेट खाली राखेर ओठमा लाली लगाइदिने कुनै झिल्के चटके र नाटकीय योजना छैनन् l संसद विकासे कार्यकर्ता होइन बिधायक हो भन्ने ज्ञान तोसिमामा छ l विकास र सम्वृद्दीको लागि सहयोगी र मध्यस्तकर्ता अनि नीतिगत निर्णयको लागि आवाज उठाउने व्यक्ति हो संसद सदस्य l बिग्रेको, भत्केको र क्षयग्रस्त परिपाटीलाई सहि ट्रयाकमा हिंडाउनु , समस्याको उचित ढंगले, सही समयमा व्यवस्थापन गर्नु जनताको पहिलो आवश्यकता र आवाजलाई मध्येनजर गरेर कार्ययोजना बनाई कार्यतालिकालाई कार्यन्वयन गरि फलोअप गर्नु नै पहिलो प्राथमिकता हो भन्ने बुझाइ कार्कीमा छ ।
एकातिर नेपालमा आफ्नो कुनै भविष्य नदेखेर विदेशीने युवायुवती हुन् या विभिन्न कुलत र लतले बिलखबन्धनमा परेका युवायुवती या दिनमा सात पटक कपडा फेरेर झिल्के मोबाइल बोकेर हिड्ने फेसनदार ननप्रोडक्टटिभ युवायुवती यी सब भन्दा फरक र देशको माटोको लागि सोच्ने र आफूलाई नै दाउमा राखेर होमिने प्रोडक्टटिभ पात्र हुन् कार्की। निराशाबादी सोच राखेर हात बाँधेर बस्ने भिड अनि केही गरौं आफैंले गरे केही हुन्छ भन्ने आसाको उज्यालो हो तोसिमा । निराशाहरुको बीचमा आशा जगाउने लडाई, राजनीतिक कुसंस्कार र कुरीति, राजनैतिक सिन्डीकेटसँग हो सु–संगत पद्दति बसाल्ने भीष्म प्रतीज्ञा हो ।
राजनीतिमा हार र जित भैरहन्छ तर जनताको चाहना कस्तो चरित्रलाई रोज्न चाहन्छ भन्ने हो । जनमत कसैको पनि हेय र अपहेलनाको चिज होइन तर कस्तोकस्तो वर्ग र कस्तो उदेश्यले कसले कसलाई मत दियो त्यसमा निहित उदेश्य र अर्थको भने सुक्ष्म अध्ययन विश्लेषण मनन गर्नुपर्छ । निहितार्थको खोजी गरिनुपर्छ । आज अहिले कुन परिस्थितिमा कसले जित्यो कसले बढिमत पायो त्यो क्षणिक जय र पराजयको कुरा भयो तर जनता कसलाई र कस्तो राजनैतिक संस्कारलाई जिताउन चाहन्छन ? जनताले दिन खोजेको सन्देश के हो ? कस्तो पद्दति र संस्कारको लागि हो ? भोलि कुन राजनीतिक आचरणको खोजि हुँदै छ यो सामाजिक बहस र चासोको विषय हो । आजको नेपालको राजनीतिमा सिद्दान्तको राजनीति छैन राजनीतिक सिद्दान्त केवल देखाउने बेचिखाने नारा मात्र बनेको छ । सिद्दान्त हीनताको राजनीति झुठ नीति छ । र बल नीति नै आजको राजनीतिको आदर्श भएको छ । देशकोलागि हुने राजनीति स्वार्थ र पद प्रतिष्ठाको लागि मात्र भएको छ । सिद्दान्तको कुनै रङ्ग छैन पानी जस्तै भएको छ सिद्दान्त जता घोल्यो जोसंग मिल्यो उस्तै हुने । सिद्दान्त स्वार्थमा साँध लाउने हतियार भएको छ । इमान सकीएपछि जे गरे पनि हुने कस्तो निर्वस्त्र राजनीति विरुद्द छ नयाँहरूको रहर l
यस्तो निर्वस्त्र र स्वार्थको हिलोमा चोबलिएको राजनीतिबाट जनता नयाँ खोजीमा छन् जसको प्रतिबिम्ब नयाँमा देखेर जनता आकर्षित भएको तथ्य यसपटकको स्थानीय निर्वाचनले देखाएको छ । काठमाडौंले परिवर्तन चाहेको र परिवर्तनको नेतृत्व आफैले आफैबाट गर्न खोजेको छ । यो संकेत शुभ संकेत हो । हिजो राजनीतिमा देखिएको सैद्धान्तिक छुत अछुत आज एकाकार भएको छ । सिद्दान्ततः यो नराम्रो होइन तर केका लागि भेद मेटियो त्यो गम्भीर र खतरानक सूचक हो । यसबाट जनता झस्केका छन निष्ठा, मान्यता र मुल्यको राजनीतिको हत्या भएको छ । आदर्शको चीर हरण भएको छ । अस्मिता राजनीतिक ज्यादतिको शिकार भएको छ । सत् बलात्कृत गरिएको छ । अप्राकृतिक सिद्दान्तलाई प्राकृत देखाउने र स्वार्थको खेल गर्ने कुचेष्टा पालिएको छ । समग्रमा राजनीति यति विकृत बनाइएको छ कि जसको सरसफाइको लागि भरपर्दो र विश्वाशिलो मजदुरको खोजी हुँदैछ । तोसिमा जस्ता उर्जावान, बेगवान विवेकशील नेपालीलाई आफ्नो कारखानामा अर्जापेर धारिलो र पाइनदार बनाउदै छ ल
नयाँहरूलाई अनुरोध, एक दिनलाई र क्षणिक लाभ हानीको लागि राजनीति नगर देश जिताउने, इमान जिताउने राजनीति गर । सत्य, न्याय र निष्ठाको लागि बहस पैरवी गर तिमीले गणितमा हारेर फरक पर्दैन । सुसंस्कृतिक पद्दति बसाल्न खोज्दा लडियो भने पनि फरक पर्दैन तिम्रो उमेर छ, समयले साथ दिन्छ अपार जनसमर्थन छ । प्रशस्त सम्भावनाहरु बाँकी छ भने किन अर्कोको हात समातेर हिड्नु तातै खाऊ जल्दै मरौ किन गर्ने ? यो पनि बुझ्नु जरुरी छ पुरानो मानसिककता र परम्परागत मान्यता बोक्ने मनस्थिति परिवर्तन गर्न समय लाग्छ । र काठमाडौँ धरानले झैँ काँचुली फेर्न बेर पनि लाग्दैन l
राणा शासन ढाल्नेदेखि लिएर प्रजातन्त्र ल्याउने, पंचायत ढाल्नेदेखि गणतन्त्र ल्याउनेसम्म हाम्रो योगदान छ भनेर पहिलेको योगदानको ब्याज खाएर बसेका बुढा पुराना पार्टीहरूका अघि यो प्रतिस्पर्धा चानचुने र सामान्य होइन । एक युग र अर्को युगको प्रतिनिधित्व बीचको भयंकर संग्राम हो । यो पटक ब्रम्हाजी कांग्रेस र कम्युनिस्टको उमेद्वार बने पनि मतदाता मन फेर्ने मत फेर्ने मनशायका साथ आएका छन् l । आफ्ना बुवा र हजुरबुवा पुस्तासंग भिड्ने जुन साहस र संकल्प गर्यौ त्यो नै गलत राजनीतिको लागि ठूलो बज्रप्रहार हो ।
भेट्रान मुक्केबाजसँग भिड्ने तोसिमाको आत्मबल नै ठुलो जित हो भोलिको लागि मार्ग प्रसस्त गर्ने ठाउँ हो गठबन्धन दलको मुख्य नेतृ वर्तमान मन्त्रीसँग जय पराजयको निराशालाई छोडेर यो धर्म युद्धमा सँधै लड़िराख्ने अभिलाषा राख । विकृति र विसंगतिको खिलाफमा सँधै चट्टानी अडान र क्रान्तकारी रुझान राख भोलि तिम्रो आगमनमा पर्खाल बन्नेहरु स्वत ढल्नेछन । राजनीतिमा उन्यु फुल्ने छ । पूराना र थोत्रा मान्यताहरुको जग हल्लिसकेको चुनावपछि त्यो ढल्नेछ l चुनाव अघि नै तिम्रो लोकप्रियता र स्वीकार्यतासँग झस्केर लाभको पद नामको मेडिकल काउन्सिलको पद देखाएर तिमीलाई मैदान छोड्न निर्वाचन आयोग समेत दुरूपयोग भएको छ l असमान न्यायको वितरणमा स्वयं निर्वाचन आयोग लागिपरेको छ l आफ्नो पद लाभको हो कि होइन भनेर उत्तर खोज्दा मौन रहने निर्वाचन आयोग उजुरी दिने विधिवत समय सकिएपछि कसैको षड्यन्त्रको गोटी बन्यो l तोसिमलाई निषेध गर्न गठबन्धन र एमाले समेतको भित्री मिलेमतो देखिन्छ तर अदालतले तोसिमाको उमेद्वारी खारेज नगर्नु भनेर अन्तरिम आदेश जारी गरेको छ l यो तिम्रो जितको प्रथम चरण हो l यद्दपि अदालतको आदेश विरुद्दपनि फेरि १३ पन्ने अभियोग पत्र लिएर निर्वाचन आयोग अदालत गएर तोसिमलाई ह्यारेस्मेंट गरिरहेछ l न्यायको समुचित वितरण गर्न निर्वाचन आयोग चुकिरहेछ l यसले तोसिमाको निष्ठा र वेगलाई रोक्न सक्दैन l षड्यन्त्रका जस्तोसुकै तानाबाना भए पनि ती परास्त बन्नेछन् l जनताको चाहनामा ब्रेक लगाउने अधिकार कसैलाई छैन l पुरानालाई प्रतिस्थापन गरेर नयाँ युगको ढोका खोल्न तोसिमाहरू हतारिएका छन् l जनताले विवेक प्रदर्शन गरेर पुरानाको त्राडनाबाट मुक्ति खोज्नेछन् l यो यूग नयाँलाई जिम्मेवारी र पुरानालाई सम्मान गर्ने यूग हो l
-लेखक त्रिवि कीर्तिपुरका एमफिल–पीएचडी अनुसन्धाता हुन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९