काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खुलेरै राजसंस्था पुनर्स्थापनाको माग उठाएको छ। पार्टीका महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठले आसन्न निर्वाचनअघि नै नयाँ राजनीतिक समझदारीमार्फत राजाको स्थान सुनिश्चित गर्नुपर्ने धारणा राखे।
राप्रपाका नेताहरुले विद्यमान संविधान र प्रणालीले देशलाई स्थायित्व दिन नसकेको भन्दै अब राजा, राजनीतिक दल र नयाँ पुस्ताबीच सहमति आवश्यक रहेको तर्क गरे। गुरुङले भने, “राजा, दल र जेनजी एक ठाउँमा आउनुपर्छ। अहिले दल र जेनजी एक ठाउँमा आएका छौं, अब राजालाई पनि राख्ने वातावरण बनाऔं।”
उनको भनाइपछि बैठकमा उपस्थित अन्य नेताहरु हल्का मुस्कुराएका थिए। प्रधानमन्त्री कार्कीले पनि हास्दै उत्तर दिइन्, “मलाई त चुनाव मात्रै गर्ने म्यान्डेट छ है।”
राप्रपाले चुनावको विरोध नगरे पनि त्यसअघि उठाइएका राजनीतिक मुद्दा, संविधान संशोधन र सुशासनका प्रश्न समाधान हुनुपर्नेमा जोड दिएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार, देश अहिले “कोर्स करेक्सन” (मार्ग सुधार) को मोडमा रहेको र यो अवसरलाई सदुपयोग गर्न सरकार र सबै दल जिम्मेवार हुनुपर्ने बताइएको छ।
श्रेष्ठले भने, “प्रधानमन्त्री सुशीला कार्कीलाई इतिहासले दिएको यो अवसरलाई आवश्यक पहल लिन र देशले सम्मानपूर्वक सम्झने पात्र बन्न आग्रह गरेका छौं।”
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०८२