काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५औं महाधिवेशन आगामी निर्वाचनअघि सम्पन्न गर्न सकिने चार विकल्प अघि सारेका छन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग बिहीबार बिहान फोन सम्पर्क गर्दै उनले चारवटै विकल्पबारे औपचारिक प्रस्ताव प्रस्तुत गरेका हुन्।
पहिलो विकल्पका रूपमा शर्माले अर्का महामन्त्री गगन थापाले कार्यसम्पादन समितिमा पेश गरेको कार्यतालिका अनुसार मंसिर २७ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्ने सुझाव दिएका छन्। उनका अनुसार व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीले नियमित कार्यतालिका अनुसार अघि बढ्नु आवश्यक छ।
दोस्रो विकल्पमा उनले विधानको धारा १७ (२) अनुसार केन्द्रीय समितिको निर्णयमा विशेष महाधिवेशन गर्न सकिने व्यवस्था रहेको जनाएका छन्। नियमित महाधिवेशनका तयारीका लागि समय अभाव देखिएमा यही विकल्प अपनाउन सकिने उनको भनाइ छ।
तेस्रो विकल्पका रूपमा महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन बोलाउने व्यवस्था प्रयोग गर्न सकिने सुझाव उनले दिएका छन्।
यी सबै विकल्पमा पनि सहमति नजुटे चौथो विकल्पका रूपमा शर्माले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्। उनले संस्थापक नेता बीपी कोइरालाले २०३३ सालमा मेलमिलापको नीति लिएर फर्किएको दिनलाई स्मरण गर्दै सोही मितिबाट महाधिवेशन प्रारम्भ गर्न सकिने बताएका छन्।
शर्माले साथै केन्द्रीय समितिबाट निर्वाचन समिति पुनर्गठन, विधान संशोधन मस्यौदा समिति गठन र महाधिवेशन तयारीसम्बन्धी अन्य उपसमिति गठन गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०८२