मुद्दाहरूमा कुन कति महत्त्वपूर्ण र संवेदनशील, कसरी छुट्याउने ? कसले त्यसका बारेमा लेखेको पढ्ने, बोलेको सुन्ने ? र, कुन संचारमाध्यमले प्रस्तुत गरेको सामग्री सटिक, स्तरीय र सही हो ? कसरी खुट्याउने ?
किनभने न मुद्दाहरू गनेर साध्य ? न लेख्ने, बोल्नेहरू गनेर साध्य ? न संचार माध्यमहरू गनेर साध्य ? म जस्तो यस्ता कुराहरूमा सचेत मानिसलाई पनि आजभोलि रिङटा नै लाग्छ ।
आशाको सीमा छैन
तर सही माध्यममार्फत् सही व्यक्तिको सही कोण हुँदै सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरूलाई सही ढंगले बुझिएला भन्ने आशा हामी सबै गरिरहन्छौँ । यो आशा सीमारहित छ । त्यही आशाको त्यान्द्रोले हामीलाई भविष्यसम्म डोहोर्याइरहन्छ ।
यही आशा गर्नेबाहेक अहिले हामीसँग उपाय पनि छैन ।
साथीहरू !
सबै विचार सबैसँग मिल्नुपर्छ भन्ने छैन, मिल्न पनि मिल्दैन । तर समसामयिक एवं अहं मुद्दाहरूलाई लिएर सचेत र अझै पूर्ण सचेत पात्रहरूसँग अनौपचारिक छलफल गर्ने वातावरण मिल्यो भने सही ठाउँमा पुगिएला भन्ने तर्क अरू साथीहरूमा पनि होला, मेरो पनि छ ।
र, यो अनलाइनले त्यो वातावरण मिलाउने ग्यारेन्टी गरेकाले केही सद्भाव रहेको हो । यद्यपि, कुन हदसम्म वातावरण बन्ला र अनलाइनले मुद्दाहरूमाथिको साझा कोणलाई सही ढंगले प्रवाहित गर्ला– त्यो भविष्यकै जिम्मा ।
आफू
टेब्लोइड, एफएम रेडियो, अनलाइन, फेसबुक, ट्विटरप्रेमी होइन म । सरल कारण छ– समयको भयानक अभाव छ त्यसरी छरिनलाई ।
नेता हुन गइरहेको छैन, सेलिव्रिटीमा दरिनु छैन, कुनै पद प्राप्त गर्नु छैन । पढेर, निरीक्षण गरेर, घोत्लिएर निस्किने सार कहिलेकाहीँ आमनागरिकसँग शेयरसम्म गर्ने हो । यसैले यो अनलाइनमा म कति सहभागी हुँला, अहिले आफैँलाई पनि थाहा छैन ।
समकालीन परिवेश
अराजक र अझ ‘अनप्रेडिक्टेवल’ छवि छ मेरो । बहुमतले हिँडाउन चाहेको ढाँचामा नहिँडिदिएपछि त्यस्ता तक्माहरू पाइँदोरहेछ । सोचको मौलिकताको पछि लाग्दा आफू एकातिर र भीड अर्कोतिर हुने स्थिति निश्चय नै बन्छ । यो अनौठो होइन, गुनासो छैन । तर त्यसलाई पचाउने पात्रहरू नै पनि यो अनलाइनले फेलापारिदेला ? सोध्ने मन छ यसका सम्पादकहरूलाई ।
शुभेच्छा छ ।
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५