हिन्दू धर्ममा मात्र होइन, लिंग पूजाको संस्कृति बौद्ध धर्ममा पनि छ । शिवलिंगको पूजा किन गरिन्छ ? यसमा विभिन्न मत छन् । सांख्य दर्शनअनुसार प्रकृति र पुरुषको मिलनको कुरा हुन्छ । यो बुद्ध धर्ममा पनि उल्लेख छ । बुद्ध धर्ममा यस्तो लिंग पूजा गर्ने परम्परालाई ‘ह्याफ्युम’ भन्ने गरिन्छ, जसको अर्थ हो– पिता–माता । त्यहाँ कौलाचारको पद्धति छ । यो गुह्य समाजतन्त्रसँग सम्बन्धित छ । लिंग र योनीको मिलनले नै यो सृष्टि र संसार रहने हो, नभए केही पनि छैन । ज्ञानको पराकाष्ठा पनि त्यसैबाट हुन्छ । प्राप्ति गर्ने इच्छा पनि त्यसैबाट हुन्छ । त्यसो हुनाले पुरुष र स्त्री सम्भोग गरिरहेको भनेर त्यसलाई भन्न पाइँदैन । त्यो माता–पिताको मिलन हो भनिन्छ बुद्ध धर्ममा ।
यसबारे विभिन्न प्रकारका भिन्नभिन्न व्याख्याहरू पाइन्छ । सांख्य दर्शनमा यसलाई पुरुष र प्रकृतिका रूपमा मानिछ । यसकै मिलनबाट सृष्टि भइरहेको छ । त्यसको सांकेतिक रूपमा शिव लिंग बनाइयो । योनी र लिंगसँग पनि यसलाई जोडेर हेर्ने गरिन्छ । तर त्यो भगवानसँग आत्मसात् गरियो । त्यसका व्याख्या विभिन्न छन् । एउटा व्याख्या पुरुष र प्रकृति भन्ने हो । प्रकृति र पुरुषको मिलनबाट सृष्टि चलेको छ । त्यस कारण यसरी शिवलिंग पूजा गर्दा भगवान् खुसी हुनुहुन्छ भन्ने धारणाको विकास भएको पाइन्छ ।
लिंग पूजा गर्ने पनि विभिन्न तरिका छन् । कसैले दूधले लिंगलाई नुहाइदिएर पूजा गर्छन् । लिंगमा अंगालो मार्ने, आफ्नो शरीरका विभिन्न भाग लगेर स्पर्श गर्ने पनि गर्छन् । शिव भक्तहरूले सकेसम्म आफूलाई मस्त राख्न खोज्छन् । शिव जस्तै मस्त बनिदिँदा शिव भगवान् खुसी हुनुहोला भन्ने विश्वास उनका भक्तहरूमा रहेको पाइन्छ । नांगा बाबाहरू हुन्छन् । उनीहरू शिव जस्तै वस्त्र नलगाई हिँड्न रुचाउँछन् । उनीहरू जहाँ पायो त्यहीँ जाँदैनन् । आफ्नो निश्चित स्थानमा बस्छन् । पूजा गर्छन् । उनीहरूले त्यसो गर्दा भगवान् शिव आफैँभित्र आत्मसात् भएको ठान्छन् । कतिपयले आजकल यसलाई नग्नतासँग पनि जोडेर टिप्पणी गरेको सुन्छु । यो नग्नताभन्दा परको कुरा हो । उनीहरू नग्नताको धारणाबाट मुक्त भइसकेका हुन्छन् । भगवान्प्रति उनीहरूको विश्वास हो । त्यो विश्वासमा लीन भएका हुन्छन् । भाङ धतुरो खाने, जिउमा खरानी धसेर हिँड्ने, नांगै बस्ने गर्छन् । सांख्य दर्शनमा पनि यो कुराको व्याख्या छ ।
शिवलिंगको पूजा गर्दा लिंग र वेदिका सँगै जोडिएको नै हुन्छ भन्ने छैन । वेदिकाविहीन लिंग पनि पूजा गरिन्छ । किरातेश्वरमा वेदिकाविहीन लिंगको पूजा गरिन्छ । यसमा ब्रह्मा, विष्णु, महेश्वरको कथा पनि छ । ब्रह्मा, विष्णु, महेश्वरमा को ठूलो भनेर अहंकार भयो । विष्णु समुद्रतिर, ब्रह्मा स्वर्गलोकतिर लाग्नुभयो । उनीहरूले उता गएर खोजी गरे । शिवजीले उनीहरूलाई शिक्षा दिनका लागि जता पनि शिवजीको प्रभाव देखे । ब्रह्मा, विष्णुले आत्मसात गरेर शिवजीलाई मानेका पाइन्छ । शिवजीले ब्रह्मा र विष्णुलाई ज्ञान दिएको दिनका रूपमा पनि शिवरात्रिलाई मनाइन्छ । शिवजीले मस्त भएर चराचरको कल्याण गर्नका लागि आनन्द लिएको दिन भन्ने कथा छ ।
हेर्नुहोस् भिडियो :
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५