आगामी ५ देखि १० वर्षसम्म विश्वव्यापी मुद्रा सञ्चितिमा चिनियाँ युआनको मजबुत अवस्था रहने अमेरिकी बहुराष्ट्रिय बैंक मोर्गान स्टानलेका अर्थ विश्लेषक रविन सिङले बताएका छन् ।
युआनको विश्वव्यापी सञ्चिति आगामी ५ देखि १० वर्षसम्म अहिलेको २ प्रतिशतबाट वृद्धि भई करिब ५ प्रतिशत पुग्नसक्ने अवस्था देखिएको छ , सिङले भने, मुद्रा सञ्चितिमा आउने वृद्धिको अर्थ विश्वभरका केन्द्रीय बैंक र लगानी कोषहरूले सम्पत्ति खरिद गर्दा युआनलाई फाइदा पुग्ने गरी कारोबार हुने देखिएको छ ।
त्यतिबेलासम्म युआनले बेलायती पाउन्ड स्टर्लिङ र जापानी येनलाई पछि पार्दै मुद्रा सञ्चितिका हिसाबले तेस्रो शक्तिशाली मुद्रा बन्नेछ । अमेरिकी डलर र युरो भने युआनभन्दा अझै बलिया रहनेछन् ।
सिङको युआनको बढ्दो प्रभावबारेको प्रक्षेपण चीनको वित्तीय अवस्थामा रहेको खुकुलोपनलाई हेरी गरिएको हो ।
चीनले पछिल्लो समय वैदेशिक लगानीलाई भित्र्याउन शेयर बजार तथा प्रतिज्ञापत्र बजारमा विभिन्न कदमहरू चालेको छ । यसका लागि व्यापारलाई फैलाउने र समुद्रपारको लगानीलाई ठूलो मात्रामा भित्र्याउने नीति चीनको रहेको छ । चीनले लिएको वित्तीय सुधारको मार्गले लगानीकर्तालाई चिनियाँ सामानबारे थप विश्वस्त तुल्याउनेछ , उनले थपे ।
सिङले यो पनि प्रक्षेपण गरेका छन् कि मुद्रा सञ्चितिमा आफ्नो अवस्थालाई आगामी दुई वर्षभित्रै मजबुत पारिसक्नेछ र यसबाट मूलधन प्रवाहमा चीनको पुँजी बजारलाई विस्तार गर्नेछ ।
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५