काठमाडौँ । नेपाली कामदारको भिसा जारी नभएको दुई महिना बितिसक्दा पनि दुबईस्थित नेपाली दूतावासले समस्या समाधानका लागि उचित पहल नगरेको नेपाल वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले ठहर गरेको छ ।
एसोसिएसनका तर्फबाट आज जारी गरिएको प्रेस विज्ञप्तिमा नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुकका रूपमा रहेको संयुक्त अरब इमिरेट्समा दुई महिनादेखि नेपाली कामदारको भिसा रोकिँदा पनि त्यहाँस्थित नेपाली दूतावास कानमा तेल हालेर बसेको आरोप लगाइएको छ ।
दूतावासको तर्फबाट समस्या समाधानका लागि कुनै पहल नभएको प्रसङ्गमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एसोसिएसनले विज्ञप्तिमा भनेको छ— समस्या समाधानका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाली दूतावास र युएई सरकारबीच समन्वय भइरहेको बताइए पनि भिजिट भिसा खुल्दा कामदार भिसाको समस्या त्यहीँको त्यहीँ छ ।
भिजिट भिसा सहज भएको र कामदार भिसा रोकिएको अवस्थामा दुबईस्थित दूतावास र त्यसको नेतृत्व उदासीन बसिरहेको एसोसिएसनले आरोप लगाएको छ । कामदार भिसा अवरोध कायम रहे नेपाली युवा–युवती असुरक्षित रूपमा दुबई जान सक्ने भएकाले सम्बन्धित सरोकारवालाले तत्काल पहल गर्न माग गरिएको छ ।
एकातिर नेपाली कामदार असुरक्षित बाटोबाट त्यहाँ जानुपर्ने अवस्था सिर्जना भएको छ भने अर्कोतिर सो मुलुकले नयाँ स्रोत मुलुक खोज्ने सम्भावना रहेकाले नेपालले पाउँदै आएको रोजगारीको अवसर र रेमिट्यान्स गुम्ने खतरा रहेको एसोसिएसनले उल्लेख गरेको छ ।
रोक्का रहेको नेपाली कामदारको भिसा खुलाउन दूतावासले अग्रसरता लिन आवश्यक निर्देशन दिन परराष्ट्र मन्त्रालयलाई एसोसिएसनले आग्रह गरेको छ ।
त्यस्तै, बिगत २८ महिनादेखि युरोपेली मुलुकहरूको मागपत्र प्रमाणीकरण प्रक्रिया अवरुद्ध हुँदा त्यहाँ मानव तस्करी बढेको र नेपालले पाउने अवसर गुमेको उल्लेख गर्दै सो विषयमा पनि उचित पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराइएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २, २०८२